Prakash Adhikari August 26, 2026

 

काठमाडौं, १० भाद्र । रसुवागढी नदीमा तिब्बततर्फबाट आएको विध्वंशकारी बाढीले रसुवा र नुवाकोटका १३ विद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट सञ्चालनमा रहेका ८ र ५ वटा निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण असर परेकामा सञ्चालनमै रहेका ३ सय ५४ मेगावाट क्षमताका ८ वटा आयोजना छन् । त्यस्तै ३ सय ९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजना प्रभावित बनेका छन् । यसरी बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ७ सय ४८ मेगावाट रहेको छ ।

रसुवा जिल्लामा कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली- १, रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, रसुवा भोटेकोशी १२० मेगावाट, माथिल्लो मेलुङ ए ६.४२ मेगावाट, साञ्जेन (अपर साञ्जेन र साञ्जेन) ७८ मेगावाट, लाङटाङ खोला २० मेगावाट र चिलिमे २२ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएका छन् ।

बाढीको प्रभाव रसुवासँगै छिमेकी नुवाकोटका जलविद्युत् आयोजनामा समेत परेको छ । नुवाकोटमा सञ्चालनमा रहेका प्रमुख आयोजनामा त्रिशूली जलविद्युत् आयोजना २४ मेगावाट, देवीघाट जलविद्युत् आयोजना १४.१ मेगावाट, माथिल्लो त्रिशूली ३ ए ६० मेगावाट, माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट, मिडल त्रिशुली गंगा १५.६ मेगावाट र २५ मेगावाटको सोलार आयोजना रहेका छन् ।

नुवाकोटमा माथिल्लो त्रिशूली ३ बी ३७ मेगावाट र मिडल त्रिशूली गंगा १५.६ मेगावाट आयोजना निर्माणाधीन अवस्थाका हुन् ।

प्राधिकरणको यो विवरण प्रारम्भिक भएकाले बाढीबाट आयोजनाका बाँध, विद्युतगृह, सबस्टेशन, पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा भएको वास्तविक क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै यकिन हुनेछ ।

 

Share Now