Prakash Adhikari August 27, 2026
नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई आज बिहानैदेखि हवाई उद्धार थालिएको छ ।
यसका लागि आज बिहान तीन हवाई उद्धार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतसहित अन्य नागरिकको उद्धार गर्न हेलिकप्टर पठाइएको छ । साथै आवश्यक चिकित्सक टोलीसहित सुरक्षाकर्मीहरुको मोबाइल सेटहरु जेनेरेटरसहित लिएर धुन्चेका लागि टोली परिचालित भएको छ ।
आज बिहान उच्चस्तरीय बैठक नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री यहाँका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको बैठकले उद्धार कार्यलाई पहिलो प्राथमिकता राख्ने निर्णय गरेको थियो ।
बाढी प्रभावित क्षेत्रमा मानिसहरु अड्किरहेको र उद्धार गर्नुपर्ने भन्ने खबर प्राप्त भइरहेका छन् । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनको टेनेलमा अड्केर बसेका तीन जनाको उद्धार गरेर श्री नं १ तालिम केन्द्र नुवाकोट ल्याइएको छ ।
बैठकले उद्धारसँगै राहतलाई थप प्रभावकारी बनाउन र अवरुद्ध दूरसञ्चार खुलाउन सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो । उद्धारसँगै राहत वितरणलाई पनि प्राथमिकता दिने प्रजिअ रेग्मीले बताउनुभयो ।
 १२३ जनाको हवाई उद्धार
नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ ।
सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये आठ विदेशी रहेका छन् । उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको छ ।
त्यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ भने अन्य तीन वटा टनेलमा उद्धार  भइरहेको सेनाले जनाएको छ ।
सेनाका टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी काठमाडौँ ल्याउनेक्रम जारी भइरहेको छ ।
सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई सरकारले थप तीव्रता दिएको छ । जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पु¥याइसकेको छ ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ । बुधबार बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो । सेनाको टोलीले रातभरि जमिनी (स्थलमार्गबाट) उद्धार कार्यलाई निरन्तर जारी राखेको थियो ।
आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ । सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ ।
Share Now