Prakash Adhikari September 1, 2026
  • प्रकाश अधिकारी

कठमाडौं, १६ भाद्र । भोटेकोशी र त्रिशूली नदीमा अकल्पनीय प्रलयकारी बाढी आएको आज सातौ दिन भएको छ । तर एक सातासम्म सम्पर्कबिहिन रहेका अपर त्रिशूली १ जलविद्युत आयोजनामा फसेका ३०० भन्दाबढी मानिसको उद्धार सरकारी प्राथमिकतामा परेको छैन । जलविद्युतका अन्य साइटहरुको खोजी र उद्धार सकिंदै गएकोले आजदेखि यो साइटमा उद्धार हुने आशा गरिएको छ ।

पर्वतारोहणको टोली पुग्यो, विशेषज्ञको आवश्यकता औल्यायो

सरकारी उद्धार टोलीले कठिन भौगोलिक अवस्थिति भनेर उद्धार कार्यमा उपेक्षा गरेको नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो जनविद्युत आयोजना अपर त्रिशुली १ को सुरुड.मा नेपाल पर्वतारोहण संघको स्वयंसेवी उद्धार टोली पुगेको छ । टोली अगष्ट २९ मा नै त्यहाँ पुगेको थियो ।टोलीले त्यहाँ पुगेर उद्धारको लागि थप दक्ष विशेषज्ञ र केही उपकरणहरुको माग गर्दै सामाजिक सञ्जालमा सहयोगको अपेक्षासहित सन्देश राखेको छ । तर चार दिनसम्म पनि सरकार र संबन्धित निकायहरुले त्यसमा ध्यान पुर्याउन सकेका छैनन् ।

उद्धार टोलीले सुरुड.को केही भित्र पुगेर त्यहाँ फसेको अनुमान गरिएका कामदार र प्राविधिक तथा कर्मचारीसंग सम्पर्क राख्ने प्रयास सफल नभएको उल्लेख गरेको छ ।

टोलीले आयोजनाको सुरुङ नम्बर १, २ र ३ भित्र फसेका ठानिएका कामदारहरूसम्म पुग्न नसकेपछि तत्काल र उच्च विशिष्टीकृत उद्धार कार्यको लागि आह्वान गरेको छ।

एनएमएका महासचिव तथा ग्राउन्ड ह्यान्डलिङ तथा उद्धार विभागका प्रमुख राजेन्द्रबहादुर लामाका अनुसार अन्तराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शनसंघद्धारा प्रमाणित माउन्टेन गाइड विक्रम कार्की र आकांक्षी माउन्टेन गाइड गेस्मान तामाङको नेतृत्वमा एनएमएको उद्धार टोलीलाई स्थितिको मूल्याङ्कन गर्न र फसेका कामदारहरूको उद्धार गर्ने प्रयास गर्न रसुवाको हाकुस्थित आयोजनाको सुरुङ नम्बर ३ मा खटाइएको थियो।

तर, सुरुङमा बाढी र हिलो भरिएको कारणले गर्दा टोली कामदारहरूसम्म पुग्न सकेन, जसले गर्दा पहुँच अत्यन्तै खतरनाक र प्राविधिक रूपमा चुनौतीपूर्ण बनेको छ।

जमिनबाट प्राप्त जानकारीको आधारमा, सुरुङ नम्बर १, २ र ३ भित्र अनुमानित ३०० देखि ४०० कामदारहरू फसेको अनुमान गरिएको छ। भित्र रहेकाहरूमध्ये केही लगभग तीन दिनदेखि पहुँच बाहिर रहेको बताइएको छ।

लामाले बाढी, हिलोले भरिएको र सीमित सुरुङ वातावरणमा सञ्चालन गर्न सक्षम विशेषज्ञ कर्मचारी र उपकरणहरूको तत्काल परिचालन आवश्यक रहेको बताउनुभएको छ ।

संघले निम्न स्रोतहरूलाई तत्काल आवश्यक रूपमा पहिचान गरेको छः

  • विशेष सीमित स्थान र सुरुङ उद्धार टोलीहरू।
  • उच्च क्षमताको पानी पम्पिङ र पानी निकासी प्रणाली।
  • हिलो र भग्नावशेष हटाउन भारी उपकरणहरू।
  • उन्नत खोज र पत्ता लगाउने उपकरण।
  • प्राविधिक डोरी र सीमित स्थान उद्धार उपकरण।
  • श्वासप्रश्वास उपकरण र जीवन समर्थन प्रणालीहरू।
  • चिकित्सा र आपतकालीन प्रतिक्रिया टोलीहरू।
  • अनुभवी पर्वतारोहण, क्यान्योनिङ, गुफा र सुरुङ उद्धार प्राविधिक विशेषज्ञहरू।

नेपाल पर्वतारोहण संघका महासचिव लामाले समय महत्वपूर्ण भएकोमा जोड दिँदै फसेका कामदारहरूसम्म पुग्न र जीवन बचाउन उपलब्ध सबै स्रोतहरू र विशेष उद्धार क्षमताहरूलाई तुरुन्तै परिचालन गर्न आग्रह गर्नुभएको छ ।

नेपाल पर्वतारोहण संघ उद्धार टोलीले सम्बन्धित सरकारी अधिकारीहरू, सुरक्षा निकायहरू र अन्य विशेष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूसँगको सहकार्यमा प्राविधिक उद्धार सहयोग समन्वय र प्रदान गर्न तयार रहेको जानकारी दिएको छ ।

उद्धार प्राथमिकता निर्धारणमा चुकेको सरकार

गृहमन्त्री सुधन गुरुड.को कमाण्डरसीपमा नेपाली सेनाको अगुवाईमा भैरहेको खोजी र उद्धार कार्य कुन प्राथमिकताको आधारमा भइरहेको छ भन्ने कुरामा पनि प्रश्न उठन थालेको छ ।बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही कर्मचारीसहित जलविद्युत् आयोजनामा काम गर्नेहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनन कार्यालयका चार, रसुवाबाट ६ सय २२, नुवाकोटबाट १ सय १५, जलविद्युत् आयोजनाका ९ सय ३३ जना छन् ।

यस्तै, मकवानपुरबाट ६५, विदेशी नागरिक ५ सय ९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १ सय २७, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कायालयका तीन गरी २ हजार ५ सय २ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो तथ्यांकले पनि सम्पर्कबिहिन हुनेमा जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्ति र रसुवाका सर्वसाधरण बढी छन् । सम्पर्क विहिन हुने जलविद्युत क्षेत्रमा जनशक्ति संबन्धित आयोजनाको सुरुड.मा थुनिएको विश्वास गरिएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)बाट प्राप्त विवरणअनुसार १११ मेगावाटको रसुवागढी, २१६ मेगावाटको माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ए र माथिल्लो त्रिशूली ३ बी मा सयौँ प्राविधिक,कर्मचारी तथा कामदार हराइरहेका छन् ।

इप्पानको प्रारम्भिक सूचनामा रसुवामा मात्रै ६ आयोजनामा कार्यरत ७ सय २९ जना सम्पर्कविहीन थिए । त्यसमा रहेकोमा सबैभन्दा ठूलो संख्या माथिल्लो त्रिशूली–१ का ५ सय ७६ जना थिए । ती मध्ये करिब ३०० जना सुरुङभित्रै थुनिएको हुनसक्ने अनुमान गरिएको छ । यस्तै, रसुवागढीबाट ९३ जना, लाङटाङ खोला (२० मेगावाट)बाट ४१ जना, रसुवा–भोटेकोशी (१२० मेगावाट) बाट ४ जना, चिलिमे (२२ मेगावाट) बाट ८ जना र मैलुङ खोला (५ मेगावाट)बाट ७ जना सम्पर्कविहीन रहेको इप्पानको प्रारम्भिक सूचनामा उल्लेख थियो।

इप्पानका अनुसार नुवाकोटमा प्रभावित प्रमुख ६ आयोजनाबाट १ सय ६८ जना सम्पर्कविहीन छन् । यसमध्ये माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट)बाट ४२ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट)बाट १ सय २२ जना सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ ।

सम्पर्कबिहिन सर्वसाधरण र जलविद्युत आयोजनामा कार्यरत जनशक्ति र सुरुड.मा फसेका जनशक्तिको अनुमानका आधारमा पनि खोजी र उद्धारको पहिलो प्राथमिकता रसुवा र रसुवामा भएका जलविद्युत आयोजना हुनुपर्ने देखिन्छ । तर सरकारको खोजी र उद्धार कार्य आधार शिविर रहेको त्रिशुली र नुवाकोटमा केन्द्रित हुन गयो ।

अभिमानी सरकार, बेढंगको खटनपटन

सरकारले बाढी आउनासाथ खोजी,उद्धार र व्यवस्थापनमा विदेशी सहयोग नलिने निर्णय गरेको थियो । सरकारले विदेशी सहयोग नलिने निर्णय गर्ने, नेपाली सेनाले कठिन भूगोल भन्दै खोजी र उद्धारमा चासो नदेखाएपछि माथिल्लो त्रिशूली १ मा कार्यरत चिनिया ठेकेदारले आफ्ना मान्छेहरु सुरुड.मा फसेको र उद्धार हुन नसकेकोले समन्वय गर्न चिनिया दूतावासलाई आग्रह गरेपछि चिनिया दूताबासको समन्वयमा सरकारले विदेशी प्राविधिक सहयोग लिने बाटो खुलायो र चीनले तुरुन्तै केरुड.मा रहेको प्राविधिक टिमलाई सीधै विदुरमा रहेको खोजी तथा उद्धार आधार शिविरमा पठायो । सो टोलीले रेकी गरेर सन्देश पठाएपछि चीनबाट थप अर्को टिम पनि चीनको राहतसामग्रीसंगै तीन दिन अगाडि नै आयो ।

तर उनीहरुलाई उनीहरुले चाहेको आयोजनामा खटाइएको पाइएको छैन । राष्ट्रिय समाचार समितिले प्रेषित गरेको समाचारमा थ्री ‘बी’ मा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ ।

माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी गिरिराज अधिकारीका अनुसार अहिले करिब ३०० जना जति टनेलभित्रै फसेको अनुमान छ । उहाँले भन्नुभएको छ, करिब १० किलोमिटर लामो टनेलमा तीन वटा अडिट टनेल छन्, त्यहाँ काम गरिरहेका चिनियाँसहितको टोली फसिरहेको छ, हामी उद्धारको पर्खाइमा छौँ । आयोजना क्षेत्रमा चिनियाँ टोलीलाई ड्रप गरिएको छ । एउटा चिनियाँ टिमले टनेलभित्र तीन किलोमिटरसम्म सर्च गरिसकेको छ नेपाली सेनाले समेत जनाएको थियो ।

कोरियाली वैदेशिक लगानी रहेको सो आयोजनामा फसेका कोरिया नागरिकसमेतको उद्धार गर्न कोरियाबाट पनि विशेषज्ञ र प्राविधिकको टोली आएको थियो । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार उक्त क्षेत्रमा कोरियाको आठ जनाको टोलीले समेत एरियल रेकी गरिसकेको छ ।

कोरियाको लगानी रहेको माथिल्लो त्रिशुली १ मा हराइरहेका आफ्ना देशका नागरिकको खोजीमा आएको कोरियन विशेषज्ञको टोलीलाई रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि खटाइएको राससले जनाएको छ । उसका अनुसार कोरियन विशेषज्ञको टोलीले हवाई रेकी गरेर काम सुरु भइसकेको जनाएको छ । माथिल्लो त्रिशूली १ कोरियाको दूसान इनरविलिटी कम्पनीका ६ र कोरियन साउथइष्ट पावरका ३ जना बाढीपछि सम्पर्कबिहिन भएका छन् ।

मथिल्लो त्रिशूली १ को टनलमा भारतीय प्राविधिक र कामदार पनि फसेकोले भारतबाट समेत उद्धारकर्ताको टिम आएको थियो । त्यो टिमलाई त झन चिलिमेतर्फ उद्धार गर्न पठाइएको छ । राससका अनुसार रसुवाका चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टिमले रेकी गरेर उद्धार थालेको छ । चिलिमे आयोजनाको सुरुङमा फसेका छ जनाको उद्धारका लागि भारतीय विज्ञ टोलीले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा प्याट्रोल भइरहेको छ ।

सरकारको कमजोरी

रसुवागढी त्रिशूली बाढीको पूर्वसूचना, खोजी र उद्धारमा सरकारले गल्तीमाथि गल्ती गरिरहेको पाइएको छ । नेपाली सीमाभित्र पर्ने लामटाड। हिमश्रृखलाको लिरुड।मा हिमपहिरो गएपछि चीनको भूकम्प मापनमा नेपालको लामटाड. क्षेत्रमा भूकम्प आएको सूचना अंकित भएको सूचना चीनले नेपाललाई दिएको बताइन्छ तर सरकारले त्यसलाई वास्ता गरेको पाइएन । रसुवाको टिम्बुरेमा बाढी आएपछि सूचना तुरुन्तै पठाउन सकेको भए रसुवाका तल्ला तटीय बस्तीहरुका मानिसलाई जोगाउन सकिन्थ्यो । त्यसमा पनि सरकारी संयन्त्रको कमजोरी झल्किन्छ ।

प्रलयकारी बाढीले त्रिशुलीसम्मको विनास गरेको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि विपद्को घडीमा नेपाललाई खोजी र उद्धारमा सहयोग गर्न मित्र राष्ट्रहरुले सरकारसमक्ष प्रस्ताव राखेका थिए । तर सरकारले विदेशी सहयोग नलिने घोषणा गर्यो ।आफ्नो परियोजना क्षेत्रका सुरुङमा फसेका आफ्ना नागरिक र अन्य कर्मचारी तथा कामदार निकाल्ने उद्धार अनुमति नपाएर आक्रोशित मित्रराष्ट्रहरुले बिलम्बित अनुपति पाएपछि पठाइएका प्राविधिकहरुलाई अन्यन्त्र खटाएर सरकारले झन गल्ती गरेको छ । सबैभन्दा बढी मानिस फसेको अनुमान गरिएको सुरुड.मा खोजी र उद्धार बिलम्बित भइरहेको छ ।

रसुवा बाढीमा परेकाहरूको आपतकालीन सहायता तथा उद्धारका लागि १२ भन्दा बढी देशले सरकारसँग अनुमति मागेका थिए । जसमा भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया, जापान लगायत थिए। विकसित देशहरुको व्यक्तिगत विशेषज्ञताका साथै अत्याधुनिक उपकरण पनि विकास गरेका हुन्छन् । २०७२ सालको महाभूकम्पमा इजरायलीहरुले जता पनि लैजान मिल्ने फिल्ड अस्पताल नै खडा गरेका थिए । जसले घाइतेहरुको ‘अन द स्पट’ उपचारमा ठूलो सहयोग पुर्याएको थियो ।

विदेशीलाई अनुमति नदिएपछि आफूभित्रै रहेको जनशक्ति र सीपको पनि सदुपयोग गर्नुपर्दथ्यो। सरकार त्यसमा पनि चुक्यो । हेलिकोप्टरबाट सिलिड। अपरेशन(डोरीमा झुण्डिएर जमीनमा अवतरण गरी उद्धार गर्ने) गर्ने अभ्यास पर्वतारोहण क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । पर्वतारोहीहरुले वाल क्लाइम्बिड., रक क्लाइम्बिड.को पनि तालिम लिएका हुन्छन् । पहरामा उक्लिनु उनीहरुको लागि जटिल काम मानिदैन । सरकारले जटिल देखेको भूभागमा जहाँ पहिल्यै मानिसहरुले सुरुड। बनाइसकेका छन् र कम्तिमा टेक्ने खुड्किला छन् त्यस्ता ठाँउमा जान पर्वतारोही सक्दथे, तर सरकारले यो जनशक्तिको उपयोग पनि गर्न सकेन वा जानेन ।

देशमा आएको विपद्मा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने राष्ट्रिय र मानवीय भावनाले ओतप्रोत पर्वतारोहीहरु सरकारका कुनै सहयोगबिना, कुनै हेलिकोप्टर बिना आफ्नै प्रयासमा अपर त्रिशूली १ को हाकु साइटबाट धेरै कामदार फसेको टनेलको मुखसम्म पुगेर उद्धारका लागि के सामान र जनशक्ति चाहिन्छ भनेर सूचना दिएको चौथो दिन भइसकेको छ । चार दिनमा संसारका जुनसुकै कुनाबाट पनि उपकरण र जनशक्ति मगाउन सकिन्थ्यो, तर सरकारी संयन्त्रले त्यसमा ध्यान दिएको पाइएन ।

विपद् व्यस्थापनमा नेपालको आफ्नै अनुभव थियो । २०७२ सालको भूकम्पमा गृहमन्त्रालय सम्हाल्नुभएका बामदेव गौतम र पश्चिमाञ्चलको केन्द्र पोखरामा कमाण्ड सम्हाल्नुभएका तात्कालिन मन्त्री सुनिलबहादुर थापा अहिले राष्ट्रिय सभाको सांसद हुनुहुन्छ । तात्कालीन योजना आयोगका उपाध्यक्ष र पछि भूकम्प पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारीका रुपमा काम गर्नुभएका डा।गोविन्दराज पोखरेल पनि काठमाडौं मै हुनुहुन्छ । सरकारले पुरानाबाट अनुभव सिक्ने जाँगर पनि देखाएन ।आफ्नो ढंग पनि पुगेन ।

आफन्तहरु नै अग्रसर, हेलिकोप्टर र उद्धारक लिएर साइटमा

सुरुड.मा फसेको अनुमान गरिएका व्यक्तिका आफन्तहरुको धैर्यको बाँध टुट्न गयो र उनीहरुले अपर त्रिशूली १ को काठमाडौं थापाथलीस्थित कार्यालयमा धर्ना सुरु गरे। दुईदिनको धर्नापछि कम्पनीले आफ्नै खर्चमा आफन्त र उनीहरुले चयन गरेका उद्धारकहरुलाई दुईवटा हेलिकोप्टरमा सोमवार साइटतर्फ लगेको छ ।

हालसम्म आयोजनास्थल तथा आसपासका क्षेत्रहरूबाट सो आयोजनामा काम गरिरहेका २ सय ५४ जनाको सकुशल उद्धार भइसकेको भए तापनि अझै ५ सय ७६ जनाभन्दा बढी मानिसहरू सम्पर्कविहीन रहेका छन्।

आयोजनामा कार्यरत सहकर्मीहरुका अनुसार करिब ३ सय जना आयोजनाको मुख्य सुरुड.मा फसेका छन् । सातौं दिनसम्म पनि सरकारी उद्धार टोली पुग्न नसकेको भन्दै आफन्तहरू अझै आक्रोशित छन्। खाना र पानीको अभावमा भीर तथा सुरुङभित्र फसेका नागरिकहरूको ज्यान जोखिममा परेको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन्।

आज सरकारी, विदेशी र नेपाल पर्वतारोहण संघको स्वयंसेवी उद्धार टोलीको संयुक्त प्रयासमा सबैभन्दा धेरै मानिस फसेको अपर त्रिशूली १ को टनेलमा उद्धार थालिने अपेक्षा गरिएको छ । हेरौं, के हुन्छ । विपद् आएको सात दिनसम्म पनि राजधानीसंग जोडिएको जिल्लामा उद्धार नगरेर ज्यूदै मर्न दिएको अपगालबाट जोगिन पनि सरकारले हरसम्भव प्रयास गर्ने विश्वास आजसम्म बाँकी नै छ ।

 

Share Now