काठमाडौं, १६ भाद्र । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डू उपत्यकाबाहिरका स्थानमा एलपी ग्यास सिलिन्डरमा भरिने राष्ट्रिय समाचार समितिले जनाएको छ।
सडक भासिएपछि ग्यास बोकेका ठूला सवारीसाधन ‘बुलेट’ जान नसक्ने अवस्था उत्पन्न भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यकाबाहिर सिलिन्डरमा ग्यास भरेर साना गाडीमार्फत ओसारपसार गर्ने योजना बनाएका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दलाई उद्धृत गर्दै राससले नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जनाएको छ।
राससका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्।
उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको चन्दले बताउनुभयो ।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिनुभयो ।








