काठमाडौं, १६ भाद्र । नेशनल लाईफ इन्स्योरेनस कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा रु.१ करोड ५१ लाख रकमको आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सोमवार एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको छ ।
उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले यस कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको छ र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरु एवं अभिकर्ताहरु सबैमा अनुरोध गर्दछ ।
नेशनल लाईफले यस प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउनुभएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । कम्पनीले घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना पनि गरेको छ ।