प्रकाश अधिकारी
कठमाडौं, १७ भाद्र । प्रलयकारी बाढी आएको आज आठौं दिन भएको छ । प्रयलकारी बाढीको भेलबाट बाचेका तर आफैले काम गर्ने आयोजनाको विभिन्न सुरुड.मा थुनिएका लगभग एक दर्जन जलविद्युत आयोजनाका कर्मचारी र कामदारको सकुशल उद्धारमा सरकारले कुनै प्रगति गर्न सकेको छैन ।
सरकारले निरन्तर प्रयास गरिरहेको सरकारी आयोजनाहरु त्रिशूली थ्री ए, थ्री बी, रसुवा गढी,चिलिमे जस्ता आयोजना पनि उद्धारमा कुनै प्रगति भएको छैन भने लामटाड.,मैलुड.अपर त्रिशूली १ मा पनि प्रगति शून्य जस्तै छ । बाढीपछिका आठौंदिनसम्म सम्पर्कबिहिन रहेका अपर त्रिशूली १ जलविद्युत आयोजनामा फसेका ३०० भन्दाबढी मानिसको उद्धार पनि सरकारी प्राथमिकतामा परेको छैन ।
हप्तापछि जिम्मेवारी प्रबर्धकको काँधमा
खोजी र उद्धार कार्यमा एकद्धार नीति लिएको दावी गर्ने सरकारले एक हप्तासम्म आफूले मात्र प्रयास गरेर समय खेर फाल्यो । जब सुरुड.मा फसेका मानिसहरुका आफन्तले काठमाडौं र खोजी तथा उद्धार शिविर नुवाकोटको विदूरमा गएर शीघ्र उद्धारको आवाज उठाए, सरकारलाई आफ्नो कमजोरी थाहा भयो । सातौं दिन मंगलबार आएर जलविद्युत आयोजनाका प्रबर्धकहरुलाई पनि उद्धार कार्यमा सघाउन अनुमति दियो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार दुईवटा जलविद्युत परियोजनाका सुरुङको भित्रसम्म पसेर उध्दार प्रयास गर्दा केही फेला पार्न नसकेकाले सम्बन्धित आयोजना कम्पनीहरुलाई पनि प्रयास गर्न आग्रह गरिएको छ । उहाँले सेना र छोडेर तपाईहरुमात्रै गर्नुहोस् भन्ने ढंगले हैन,संयुक्त प्रयासबाट छिटो परिणाममूलक काम गर्न सकिन्छ भनेर सो अनुमति दिइएको बताउनुभयो ।
भदौ १० को बाढीले रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९४ कर्मचारी तथा कामदारहरु सम्पर्कविहीन रहेका छन् ।
अनुमति पाएपछि आयोजना प्रवर्द्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरणसहित फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने बाटो खुलेको छ। अपर त्रिशूली १ लगायतका आयोजनाले उद्धारका लागि विदेशी विशेषज्ञ ल्याउने बाटो खोलिदिन पहिल्यै देखि सरकारसंग अनुरोध गरेका थिए । सरकारले विदेशी सहयोग नलिने निर्णय गरेपछि यो आयोजनाको निर्माणमा काम गरिरहेको पावर चाइनाले नेपालस्थित चिनिया दूतावासमा सम्पर्क गरेर कुटनीतिक पहल थालेपछि जलविद्युत आयोजनामा काम गरिरहेका नागरिक भएका देशको उद्धार टिम ल्याउन सरकारले अनुमति दिएको थियो ।
सो अनुमति पाएकै दिन चीनले केरुड.तर्फ तयारी अवस्थामा रहेको पहिलो टिमलाई नेपाल पठाएको थियो । सो टिमले बाढी प्रभावित आयोजना र सुरुड.को अवस्थितिको रेकी गरेर पठाएपछि राहत सामग्रीसंगै उद्धार सामग्री लिएर दोस्रो उद्धार टोली नेपाल आइपुगेको थियो । सरकारले अनुमति दिएपछि कोरियाले पनि आफ्नो लगानी रहेको आयोजनामा काम गर्ने आफ्ना नागरिकको उद्धारको लागि प्राविधिक पठायो । सो आयोजनामा भारतीय नागरिक पनि कार्यरत रहेकोले भारतले पनि उद्धार टोली पठायो ।
तर काठमाडौंमा रहेको अनुमति दिने सरकार र नुवाकोटको विदूरमा खोजी र उद्धारको समन्वय गरेका मन्त्रीहरुकोबीचमा तालमेल नमिल्दा चीन,भारत र कोरियाबाट आएका उद्धारकर्ताहरु उनीको अधिक सरोकार रहेको अपर त्रिशूली १ मा जान पाएनन् । सरकारले चिलिमे,लामटाड., त्रिशूली थ्री ए र थ्री बीमा अड्काएर राखिदियो ।
आयोजना प्रबर्धकलाई अब चटारो
सातौ दिनमा सरकारले जिम्मेवारी सारेपछि जलविद्युत प्रबर्धकलाई आफ्ना कर्मचारी र कामदार बचाउने कामको नेतृत्व लिन चटारो परेको छ । आयोजनाका प्रबद्र्धकहरु प्राविधिकहरुको टोली लिएर जाने तयारीमा लागेका छन् ।
लाङटाङ जलविद्युत् आयोजनाले पनि बाढी र पहिरोले पुरिएको आयोजनास्थलमा आफ्नै प्राविधिक टोली तथा आवश्यक उपकरण लिएर जाने तयारी थालेको जानकारी आयोजना प्रवर्द्धक विजयमान भट्टराईले जानकारी दिनुभएको छ।
‘नेपाली सेनाले सो आयोजनाको सुरुङमा १०० मिटरसम्म गएर हेर्यो, त्यसपछि हामी जान सक्दैनौं, तपाईंहरूको प्राविधिक मान्छे लगाएर काम अघि बढाउनुस् भनेर उहाँहरूले भन्नुभएको छ,’ भट्टराईले भन्नुभयो ।
उहाँले अहिले सरकारी संयन्त्र र आयोजनाको टोलीबीच समन्वय गरेर काम अघि बढाउने अवस्था बनेको बताउनुभयो ।
‘हाम्रो प्राविधिक टिम त चाहिने नै थियो, पहिला पनि चाहिने थियो । त्यो भइराखेको छ । अब हाम्रो तर्फबाट पनि समन्वय हुनुपर्छ,’ भट्टराईले भन्नुभयो, ‘उहाँहरूको पनि त्यहाँ हेलिकप्टर जाँदैन, गाडीहरू जाँदैनन् । लिफ्टिङ लगायतका सामानको उपलब्धता उहाँहरूले गर्नुपर्छ । त्यसैले हाम्रो पनि समन्वयमा काम अघि बढाउने भन्नेमा छौं ।’
आयोजनाको टोली अहिले काठमाडौंमा आवश्यक उपकरण तथा सामग्री जुटाउने काममा लागेको छ । आवश्यक प्राविधिक सामग्री र उपकरण खरिद तथा व्यवस्थापन गरेपछि टोली आयोजनास्थलतर्फ जाने तयारीमा रहेको उहाँले बताउनुभयो।
माथिल्लो त्रिशूली–१ निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी)ले पनि आवश्यक प्राविधिक जनशक्ति र उपकरण व्यवस्थापन थालेको छ । सुरुड.मा फसेका र सम्पर्कबिहिन भएका कर्मचारी र कामदारका आफन्तहरुको दबाब पछि कम्पनीले एक उद्धार दलको साथमा आफन्तहरुको दुई डफ्फा सोमबार नै आयोजनास्थलमा पठाएको थियो ।
बाढीपछि आयोजनास्थलमा परिचालन भएका जनशक्ति सम्पर्कविहीन बनेपछि कम्पनीले सुरुदेखि नै आफ्ना प्राविधिक टोली परिचालन गर्न खोजेको थियो ।उसैको अग्रसरतामा चीन,कोरिया र भारतबाट उद्धार विशेषज्ञ ल्याउने कुटनीतिक प्रयास सफल भएको थियो । तर विदेशबाट ल्याएको विशेषज्ञ जनशक्ति पनि सरकारले एकद्धार नीति अन्तरगत अन्यत्र उद्धारमा खटाएपछि माथिल्लो त्रिशूली १ को सुरुड।मा फसेको मानिसहरुको उद्धारमा बिलम्ब हुन गएको थियो ।
सो सुरुड.मा धेरै मानिस फसेको जानकारी पाएपछि नेपाल पर्वतारोहण संघको स्वयंसेवी उद्धार टोली हाकुतर्फको ३ नम्बर टनेलबाट उद्धारको लागि प्रवेश गरेको थियो । तर जनशक्ति थोरै भएको र पर्याप्त उद्धार उपकरण नहुनुको साथै टनलमा माटोको लेदो भरिएको भन्दै उनीहरुले उद्धारको लागि थप विशेषज्ञ मगाउन र विशेष उपकरण ल्याउने सुझाव दिएका थिए ।
सबैभन्दा बढी मानिस कोरियाली लगानीमा निर्माण भईरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ माको सुरुड.मा फसेका छन् । कूल ५ सय ७३ जना सम्पर्कबिहिन रहेको माथिल्लो त्रिशूली १ मा ३०० भन्दा बढी मानिस सुरुड।मा फसेको अनुमान गरिएको छ ।
गतबर्षको बाढीमा क्षतिग्रस्त भएको रसुवागढी आयोजनामा मर्मतसंभार चलिरहदा बाढी आएकोले त्यहाँ कार्यरत ९३ जना सम्पर्कविहीन छन् । नेपाली सेनाको उद्धार टोली २ सय २५ मिटरसम्म पुग्दा पनि कोही नभेटिएपछि फिर्ता भएको थियो । त्यति बेला ड्युटीमा रहेका तीन जना कर्मचारी भने सम्पर्कबिहिन नै रहेको कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रहिसक्नुभएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिड.ले त्यहाँ कार्यरत जनशक्तिहरु पावर हाउसमा गएको हुनसक्ने अनुमान गर्नुभएको छ ।
त्यस्तै २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाबाट ४१ जना सम्पर्कविहीन छन् ।
त्यस्तै नुवाकोटमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाका ४२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रहेपनि आयोजनाको भूमिगत विद्यूत् गृहभित्रबाट उद्धार टोलीले २४ घण्टा काम गरे पनि उद्धार गर्न सफलता मिलेको छैन । त्यहाँ पनि कामदारहरु पावरहाउसमा गएको हुनसक्ने अनुमान ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले गर्नुभएको छ ।
सोमबार नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा गएको थियो ।
पर्वतारोहणको टोलीले औल्यायो विशेषज्ञको आवश्यकता
सरकारी उद्धार टोलीले कठिन भौगोलिक अवस्थिति भनेर उद्धार कार्यमा उपेक्षा गरेको नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो जनविद्युत आयोजना अपर त्रिशूली १ को सुरुड. मा नेपाल पर्वतारोहण संघको स्वयंसेवी उद्धार टोली अगष्ट २९ मा नै त्यहाँ पुगेको थियो ।टोलीले त्यहाँ पुगेर उद्धारको लागि थप दक्ष विशेषज्ञ र केही उपकरणहरुको माग गर्दै सामाजिक सञ्जालमा सहयोगको अपेक्षासहित सन्देश राखेको छ । तर त्यसपछिका पाँच दिनसम्म पनि सरकार र संबन्धित निकायहरुले त्यसमा ध्यान पुर्याउन सकेका छैनन् ।
उद्धार टोलीले सुरुड।को केही भित्र पुगेर त्यहाँ फसेको अनुमान गरिएका कामदार र प्राविधिक तथा कर्मचारीसंग सम्पर्क राख्ने प्रयास सफल नभएको उल्लेख गरेको छ ।
टोलीले आयोजनाको सुरुङ नम्बर १, २ र ३ भित्र फसेका ठानिएका कामदारहरूसम्म पुग्न नसकेपछि तत्काल र उच्च विशिष्टीकृत उद्धार कार्यको लागि आह्वान गरेको छ।
एनएमएका महासचिव तथा ग्राउन्ड ह्यान्डलिङ तथा उद्धार विभागका प्रमुख राजेन्द्रबहादुर लामाका अनुसार अन्तराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शनसंघद्धारा प्रमाणित माउन्टेन गाइड विक्रम कार्की र आकांक्षी माउन्टेन गाइड गेस्मान तामाङको नेतृत्वमा एनएमएको उद्धार टोलीलाई स्थितिको मूल्याङ्कन गर्न र फसेका कामदारहरूको उद्धार गर्ने प्रयास गर्न रसुवाको हाकुस्थित आयोजनाको सुरुङ नम्बर ३ मा खटाइएको थियो।
तर, सुरुङमा बाढी र हिलो भरिएको कारणले गर्दा टोली कामदारहरूसम्म पुग्न सकेन, जसले गर्दा पहुँच अत्यन्तै खतरनाक र प्राविधिक रूपमा चुनौतीपूर्ण बनेको छ।
जमिनबाट प्राप्त जानकारीको आधारमा, सुरुङ नम्बर १, २ र ३ भित्र अनुमानित ३०० देखि ४०० कामदारहरू फसेको अनुमान गरिएको छ। भित्र रहेकाहरूमध्ये केही लगभग तीन दिनदेखि पहुँच बाहिर रहेको बताइएको छ।
लामाले बाढी, हिलोले भरिएको र सीमित सुरुङ वातावरणमा सञ्चालन गर्न सक्षम विशेषज्ञ कर्मचारी र उपकरणहरूको तत्काल परिचालन आवश्यक रहेको बताउनुभएको छ ।
संघले निम्न स्रोतहरूलाई तत्काल आवश्यक रूपमा पहिचान गरेको छः
- विशेष सीमित स्थान र सुरुङ उद्धार टोलीहरू।
- उच्च क्षमताको पानी पम्पिङ र पानी निकासी प्रणाली।
- हिलो र भग्नावशेष हटाउन भारी उपकरणहरू।
- उन्नत खोज र पत्ता लगाउने उपकरण।
- प्राविधिक डोरी र सीमित स्थान उद्धार उपकरण।
- श्वासप्रश्वास उपकरण र जीवन समर्थन प्रणालीहरू।
- चिकित्सा र आपतकालीन प्रतिक्रिया टोलीहरू।
- अनुभवी पर्वतारोहण, क्यान्योनिङ, गुफा र सुरुङ उद्धार प्राविधिक विशेषज्ञहरू।
नेपाल पर्वतारोहण संघका महासचिव लामाले समय महत्वपूर्ण भएकोमा जोड दिँदै फसेका कामदारहरूसम्म पुग्न र जीवन बचाउन उपलब्ध सबै स्रोतहरू र विशेष उद्धार क्षमताहरूलाई तुरुन्तै परिचालन गर्न आग्रह गर्नुभएको छ ।
नेपाल पर्वतारोहण संघ उद्धार टोलीले सम्बन्धित सरकारी अधिकारीहरू, सुरक्षा निकायहरू र अन्य विशेष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूसँगको सहकार्यमा प्राविधिक उद्धार सहयोग समन्वय र प्रदान गर्न तयार रहेको जानकारी दिएको छ ।
उद्धार प्राथमिकतामा चुक्यो सरकार
गृहमन्त्री सुधन गुरुड.को कमाण्डरसीपमा नेपाली सेनाको अगुवाईमा भैरहेको खोजी र उद्धार कार्य कुन प्राथमिकताको आधारमा भइरहेको छ भन्ने कुरामा पनि प्रश्न उठन थालेको छ ।बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही कर्मचारीसहित जलविद्युत् आयोजनामा काम गर्नेहरू सम्पर्कविहीन भएका छन् ।
यो बाढीमा सम्पर्कबिहिन हुनेमा जलविद्युत क्षेत्रमा काम गर्ने जनशक्ति र रसुवाका सर्वसाधरण बढी छन् । सम्पर्क विहिन हुने जलविद्युत क्षेत्रमा जनशक्ति संबन्धित आयोजनाको सुरुड.मा थुनिएको विश्वास गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संघ(इप्पान)को प्रारम्भिक सूचनामा रसुवामा मात्रै ६ आयोजनामा कार्यरत ७ सय २९ जना सम्पर्कविहीन थिए । त्यसमा रहेकोमा सबैभन्दा ठूलो संख्या माथिल्लो त्रिशूली–१ का ५ सय ७६ जना थिए । ती मध्ये करिब ३०० जना सुरुङभित्रै थुनिएको हुनसक्ने अनुमान गरिएको थियो । यस्तै, रसुवागढीबाट ९३ जना, लाङटाङ खोला (२० मेगावाट)बाट ४१ जना, रसुवा–भोटेकोशी (१२० मेगावाट)बाट ४ जना, चिलिमे (२२ मेगावाट) बाट ८ जना र मैलुङ खोला (५ मेगावाट)बाट ७ जना सम्पर्कविहीन रहेको इप्पानको प्रारम्भिक सूचनामा उल्लेख थियो।
इप्पानका अनुसार नुवाकोटमा प्रभावित प्रमुख ६ आयोजनाबाट १ सय ६८ जना सम्पर्कविहीन छन् । यसमध्ये माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट)बाट ४२ जना र माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट)बाट १ सय २२ जना सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको थियो ।
सम्पर्कबिहिन सर्वसाधरण र जलविद्युत आयोजनामा कार्यरत जनशक्ति र सुरुड.मा फसेका जनशक्तिको अनुमानका आधारमा पनि खोजी र उद्धारको पहिलो प्राथमिकता रसुवा र रसुवामा भएका जलविद्युत आयोजना हुनुपर्ने देखिन्छ । तर सरकारको खोजी र उद्धार कार्य आधार शिविर रहेको त्रिशुली र नुवाकोटमा केन्द्रित हुन गयो ।
अपर त्रिशूलीको लागि आएको विदेशी टोलीको अन्यत्रै खटन !
प्राकृतिक प्रकोप र राष्ट्रिय विपद्को कुनै पनि सामना नगरेको अनुभवहिन सरकारले बाढी आउनासाथ खोजी,उद्धार र व्यवस्थापनमा विदेशी सहयोग नलिने निर्णय गरेको थियो । सरकारले विदेशी सहयोग नलिने निर्णय गर्ने, नेपाली सेनाले कठिन भूगोल भन्दै खोजी र उद्धारमा चासो नदेखाएपछि माथिल्लो त्रिशूली १ मा कार्यरत चिनिया ठेकेदारले आफ्ना मान्छेहरु सुरुड.मा फसेको र उद्धार हुन नसकेकोले समन्वय गर्न चिनिया दूतावासलाई आग्रह गरेपछि चिनिया दूताबासको समन्वयमा सरकारले विदेशी प्राविधिक सहयोग लिने बाटो खुलायो र चीनले तुरुन्तै केरुड.मा रहेको प्राविधिक टिमलाई सीधै विदुरमा रहेको खोजी तथा उद्धार आधार शिविरमा पठायो । सो टोलीले रेकी गरेर सन्देश पठाएपछि चीनबाट थप अर्को टिम पनि चीनको राहतसामग्रीसंगै आयो ।
तर उनीहरुलाई सरकारले संबन्धित आयोजनामा खटाइएन । राष्ट्रिय समाचार समितिले प्रेषित गरेको समाचारमा थ्री ‘बी’ मा चिनियाँ विशेषज्ञ टोलीलाई नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ ।
माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी गिरिराज अधिकारीका अनुसार अहिले करिब ३०० जना जति टनेलभित्रै फसेको अनुमान छ । उहाँले भन्नुभएको छ, करिब १० किलोमिटर लामो टनेलमा तीन वटा अडिट टनेल छन्, त्यहाँ काम गरिरहेका चिनियाँसहितको टोली फसिरहेको छ, हामी उद्धारको पर्खाइमा छौँ । आयोजना क्षेत्रमा चिनियाँ टोलीलाई ड्रप गरिएको छ । एउटा चिनियाँ टिमले टनेलभित्र तीन किलोमिटरसम्म सर्च गरिसकेको कुरा नेपाली सेनाले समेत जानकारी दिएको थियो ।
कोरियाली वैदेशिक लगानी रहेको सो आयोजनामा फसेका कोरिया नागरिकसमेतको उद्धार गर्न कोरियाबाट पनि विशेषज्ञ र प्राविधिकको टोली आएको थियो । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार उक्त क्षेत्रमा कोरियाको आठ जनाको टोलीले समेत एरियल रेकी गरिसकेको छ । कोरियाको लगानी रहेको माथिल्लो त्रिशुली १ मा हराइरहेका आफ्ना देशका नागरिकको खोजीमा आएको कोरियन विशेषज्ञको टोलीलाई रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि खटाइएको राससले जनाएको छ । उसका अनुसार कोरियन विशेषज्ञको टोलीले हवाई रेकी गरेर काम सुरु भइसकेको जनाएको छ । माथिल्लो त्रिशूली १ कोरियाको दूसान इनरविलिटी कम्पनीका ६ र कोरियन साउथइष्ट पावरका ३ जना बाढीपछि सम्पर्कबिहिन भएका छन् ।
मथिल्लो त्रिशूली १ को टनलमा भारतीय प्राविधिक र कामदार पनि फसेकोले भारतबाट समेत उद्धारकर्ताको टिम आएको थियो । त्यो टिमलाई त झन चिलिमेतर्फ उद्धार गर्न पठाइएको छ । राससका अनुसार रसुवाका चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टिमले रेकी गरेर उद्धार थालेको छ । चिलिमे आयोजनाको सुरुङमा फसेका छ जनाको उद्धारका लागि भारतीय विज्ञ टोलीले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा प्याट्रोल भइरहेको छ ।
सरकारको कमजोरी
रसुवागढी त्रिशूली बाढीको पूर्वसूचना, खोजी र उद्धारमा सरकारले गल्तीमाथि गल्ती गरिरहेको पाइएको छ । नेपाली सीमाभित्र पर्ने लामटाड. हिमश्रृखलाको लिरुड.मा हिमपहिरो गएपछि चीनको भूकम्प मापनमा नेपालको लामटाड. क्षेत्रमा भूकम्प आएको सूचना अंकित भएको सूचना चीनले नेपाललाई दिएको बताइन्छ तर सरकारले त्यसलाई वास्ता गरेको पाइएन । रसुवाको टिम्बुरेमा बाढी आएपछि सूचना तुरुन्तै पठाउन सकेको भए रसुवाका तल्ला तटीय बस्तीहरुका मानिसलाई जोगाउन सकिन्थ्यो । त्यसमा पनि सरकारी संयन्त्रको कमजोरी झल्किन्छ ।
प्रलयकारी बाढीले त्रिशुलीसम्मको विनास गरेको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि विपद्को घडीमा नेपाललाई खोजी र उद्धारमा सहयोग गर्न मित्र राष्ट्रहरुले सरकारसमक्ष प्रस्ताव राखेका थिए । तर सरकारले विदेशी सहयोग नलिने घोषणा गर्यो ।आफ्नो परियोजना क्षेत्रका सुरुङमा फसेका आफ्ना नागरिक र अन्य कर्मचारी तथा कामदार निकाल्ने उद्धार अनुमति नपाएर आक्रोशित मित्रराष्ट्रहरुले बिलम्बित अनुपति पाएपछि पठाइएका प्राविधिकहरुलाई अन्यन्त्र खटाएर सरकारले झन गल्ती गरेको छ । सबैभन्दा बढी मानिस फसेको अनुमान गरिएको सुरुड।मा खोजी र उद्धार बिलम्बित भइरहेको छ ।
रसुवा बाढीमा परेकाहरूको आपतकालीन सहायता तथा उद्धारका लागि १२ भन्दा बढी देशले सरकारसँग अनुमति मागेका थिए । जसमा भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया, जापान लगायत थिए। विकसित देशहरुको व्यक्तिगत विशेषज्ञताका साथै अत्याधुनिक उपकरण पनि विकास गरेका हुन्छन् । २०७२ सालको महाभूकम्पमा इजरायलीहरुले जता पनि लैजान मिल्ने फिल्ड अस्पताल नै खडा गरेका थिए । जसले घाइतेहरुको ‘अन द स्पट’ उपचारमा ठूलो सहयोग पुर्याएको थियो ।
विदेशीलाई अनुमति नदिएपछि आफूभित्रै रहेको जनशक्ति र सीपको पनि सदुपयोग गर्नुपर्दथ्यो। सरकार त्यसमा पनि चुक्यो । हेलिकोप्टरबाट सिलिड। अपरेशन(डोरीमा झुण्डिएर जमीनमा अवतरण गरी उद्धार गर्ने) गर्ने अभ्यास पर्वतारोहण क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । पर्वतारोहीहरुले वाल क्लाइम्बिड., रक क्लाइम्बिड.को पनि तालिम लिएका हुन्छन् । पहरामा उक्लिनु उनीहरुको लागि जटिल काम मानिदैन । सरकारले जटिल देखेको भूभागमा जहाँ पहिल्यै मानिसहरुले सुरुड। बनाइसकेका छन् र कम्तिमा टेक्ने खुड्किला छन् त्यस्ता ठाँउमा जान पर्वतारोही सक्दथे, तर सरकारले यो जनशक्तिको उपयोग पनि गर्न सकेन वा जानेन ।
देशमा आएको विपद्मा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने राष्ट्रिय र मानवीय भावनाले ओतप्रोत पर्वतारोहीहरु सरकारका कुनै सहयोगबिना, कुनै हेलिकोप्टर बिना आफ्नै प्रयासमा अपर त्रिशूली १ को हाकु साइटबाट धेरै कामदार फसेको टनेलको मुखसम्म पुगेर उद्धारका लागि के सामान र जनशक्ति चाहिन्छ भनेर सूचना दिएको चौथो दिन भइसकेको छ । चार दिनमा संसारका जुनसुकै कुनाबाट पनि उपकरण र जनशक्ति मगाउन सकिन्थ्यो, तर सरकारी संयन्त्रले त्यसमा ध्यान दिएको पाइएन ।
विपद् व्यस्थापनमा नेपालको आफ्नै अनुभव थियो । २०७२ सालको भूकम्पमा गृहमन्त्रालय सम्हाल्नुभएका बामदेव गौतम र पश्चिमाञ्चलको केन्द्र पोखरामा कमाण्ड सम्हाल्नुभएका तात्कालिन मन्त्री सुनिलबहादुर थापा अहिले राष्ट्रिय सभाको सांसद हुनुहुन्छ । तात्कालीन योजना आयोगका उपाध्यक्ष र पछि भूकम्प पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारीका रुपमा काम गर्नुभएका डा.गोविन्दराज पोखरेल पनि काठमाडौं मै हुनुहुन्छ । सरकारले पुरानाबाट अनुभव सिक्ने जाँगर पनि देखाएन ।आफ्नो ढंग पनि पुगेन ।
अहिले नेपाली सेनासहितको उद्धार टोलीलाई विद्युत आयोजनाको सुरुड.मा जमेको हिलो वा लेदो माटो हटाउन समस्या भएको देखिन्छ । नेपालमा विष्फोटनको खतरा भएका सोलखुम्बुको इम्जात्से ताल र दोलखाको च्छो रोल्पा तालमा पाइपद्धारा पानी साइफन गरेर जोखिम घटाएको अनुभव छ । हिलोमाटो वा लेदो वा पानी हटाउन त्यो अनुभव काम लाग्न सक्छ । नेपालका निर्माणाधीन जलविद्युत र सडक सुरुड. आयोजनामा पनि सुरुड. उद्धार विशेषज्ञ हुनसक्छन् । टनेल मार्ग भनिएको फाष्ट ट्रयाक, सिद्धबाबा टनेल, भारतको सतलज विद्युत निगमले बनाउँदै गरेको ९०० मेगावाटको अरुण तेस्रो र नेपाल विद्युत प्राधिकरण अन्तरगत तनहुँ हाइड्रोले बनाउदै गरेको १४० मेगावाटको तनहँु हाइड्रोमा पनि उद्धार विशेषज्ञ हुनसक्ने संभावना छ । त्यहाँबाट पनि जनशक्ति मगाउने हो भने छिट्टै उद्धार हुन सक्छ । तर उद्धार उपकरण र पछिल्लो प्रविधिका हिसाबले थप चिनिया उद्धारकर्ता मगाउने हो भने अझै जीवनको आशा गर्न सकिन्छ ।
आफन्तहरु नै अग्रसर, हेलिकोप्टर र उद्धारक लिएर साइटमा
सुरुड.मा फसेको अनुमान गरिएका व्यक्तिका आफन्तहरुको धैर्यको बाँध टुट्न गयो र उनीहरुले अपर त्रिशूली १ को काठमाडौं थापाथलीस्थित कार्यालयमा धर्ना सुरु गरे। दुईदिनको धर्नापछि कम्पनीले आफ्नै खर्चमा आफन्त र उनीहरुले चयन गरेका उद्धारकहरुलाई दुईवटा हेलिकोप्टरमा सोमवार साइटतर्फ लगेको छ ।
विपद् आएको सात दिनसम्म पनि राजधानीसंग जोडिएको जिल्लामा उद्धार नगरेर ज्यूदै मर्न दिएको अपगालबाट जोगिन पनि सरकारले प्रबद्र्धकहरुलाई पनि उद्धारमा सघाउन अनुरोध गरेको छ। आशा गरौं, आठौं दिनमा संयुक्त प्रयासको नतिजा सकारात्मक सुन्न पाइयोस् ।








