काठमाडौं, १७ भाद्र । भोटेकोशी र त्रिशूली नदीमा १० भाद्रमा आएको प्रलयकारी बाढीमा परेर सम्पर्कबिहिन भएकाहरुको खोजी र उद्धार कार्य बाँकी रहदै संयुक्त राष्ट्रसङ्घले प्रतिकार्य अब राहत र पुनः स्थापनामा केन्द्रित नयाँ चरणमा प्रवेश गरेको जनाएको छ।
नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा लामटाड. हिमश्रृखलाको लिरुड.मा हिमनदी खण्डित भएर गत साता आएको बाढीका कारण नेपालमा धनजनको ठूलो क्षति पुगेको छ। तिब्बतमा पनि क्षति भएको विवरण आएको छ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफान ड्युजरिकले नेपालमा हजारौँ परिवारका लागि अहिले मानवीय सहायता प्राप्त गर्नु मुख्य प्राथमिकता भएको औँल्याउनुभएको छ।
नेपालमा अहिलेसम्म १,१०० जनाभन्दा बढीको शव फेला परिसकेको छ भने ४,८०० जनाभन्दा बढी मानिस सम्पर्कविहीन भएको नेपाल प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित स्थानहरूबाट १२,००० जनाको उद्धार गरिएको छ।
बाढीका कारण थेरै स्थानमा पुग्न र सडकहरू बगेका कारण प्रभावित समुदायसम्म पुग्न उद्धारकर्मीहरू हेलिकप्टरमा भर पर्नुपर्ने अवस्था छ। राष्ट्रसङ्घका प्रवक्ताले त्यसलाई ठूलो चुनौती भन्नुभएको छ।








