काठमाडौँ, १७ भदौः रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्युत् नियमन आयोगले रु एक करोड सहयोग गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप सो रकमको चेक हस्तान्तरण गरिएको आयोगले जनाएको छ । आयोगद्वारा आज जारी विज्ञप्तिमा उक्त रकम कोषमार्फत सञ्चालित उद्धार, राहत, पुनःस्थापना तथा प्रभावित नागरिकको सहयोगसम्बन्धी कार्यक्रममा उपयोग हुने विश्वास लिइएको छ ।
विपद्को अवस्थामा प्रभावित क्षेत्रमा विद्युत् सेवाको सुरक्षा, निरन्तरता तथा यथाशीघ्र पुनःस्थापनाका लागि सम्बन्धित विद्युत् उत्पादन, प्रसारण तथा वितरण संस्थासँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आयोग प्रतिबद्ध रहेको बताइएको छ ।
भोटेकोशीमा उत्पन्न विपद्ले विद्युत् क्षेत्रको नियमनमा प्राकृतिक प्रकोपलाई कुनै एक आयोजना वा अनुमतिपत्रप्राप्त संस्थासम्म सीमित काबु बाहिरको परिस्थितिको विषयका रूपमा हेर्ने परम्परागत दृष्टिकोण पर्याप्त नरहेको तथ्य आयोगले प्रस्ट्याएको छ । क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक अवस्था, जोखिम तथा पुनःस्थापनाको प्रगतिबारे आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित संस्थालाई अनुरोध गर्दै आयोगले यस्ता विपद्बाट भविष्यमा विद्युत् जस्तो आधारभूत सेवालाई अझै सुरक्षित, सक्षम र प्रतिरोधी बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
जलविद्युत् आयोजना, प्रसारण प्रणाली र विद्युत् व्यापारबीचको अन्तरसम्बन्ध क्रमशः बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा एउटा नदी बेसिनमा घटित ठूलो प्राकृतिक विपद्को प्रभाव सम्बन्धित एकल आयोजनामा मात्र सीमित नरही यसले विद्युत् उत्पादन तथा आपूर्ति, प्रसारण प्रणालीको स्थायित्व र दिगोपना, विद्युत् व्यापार, आयोजनाको वित्तीय दायित्व तथा सीमापार विद्युत् प्रवाहमा परोक्ष वा अप्रत्यक्ष अझै असर पु¥याउनसक्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।