Prakash Adhikari September 4, 2026

खलंगा(दार्चुला), १९ भाद्र। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा ठूलो पहिरो गएको छ । पहिरोले चमेलिया नदी करिब आधा घण्टा थुनिएको छ।

पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बगिसकेको छ भने बस्तीसमेत जोखिममा परेको छ।

हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिनुभएको छ।

जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय र उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेका छन् ।

“घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी पुगेका छन्”, बोहराले भन्नुभयो “थप क्षति हुन नदिन तथा उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।”

अध्यक्ष बोहराका अनुसार यही स्थानमा तीन–चार वर्षअघि पनि पहिरो गएको थियो। तर यसपटकको पहिरो विगतको भन्दा निकै ठूलो रहेको स्थानीयले बताएका छन्। वर्षा जारी रहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

चमेलियामा सञ्चालनमा आइसकेको नेपाल विद्युत प्राधिकरणको ३० मेगावाटको चमेलिया जलविद्युत र अपि पावरको निर्माणाधीन ४० मेगावाट क्षमताको अपर चमेलिया, दार्चुला हाइड्रो पावरको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाहरु रहेको छन् ।

Share Now