Prakash Adhikari September 5, 2026

दुईपिप्ले(लमजुड.), २० भाद्र । भैरवकाली माध्यमिक विद्यालय दुईपिप्ले लमजुड.मा अध्ययनरत विद्यार्थीहरुले भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट पीडितहरुको सहयोगार्थ २१ हजार ९सय १५ रुपैया सहयोग गरेका छन् ।

विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम विद्यालय प्रशासनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

भैरवकाली माध्यमिक विद्यालयका सहप्रधानाध्यापक शिवराम अधिकारीले दिनुभएको जानकारी अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट पीडितहरुको राहतका लागि आफ्नो खाजा खर्चको रकम स्वेच्छिक रुपले संकलन गरी विद्यालय प्रशासनलाई प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न बुझाएका थिए । विद्यार्थीहरुबाट संकलित रकम विद्यालय प्रशासनले बैंकमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला गरेको हो ।

आपत् विपद्मा एकअर्कालाई सहघाउनु पर्छ भन्ने परोपकारी भावनाले प्रेरित मनकारी विद्यार्थीहरुलाई प्रधानाध्यापक हरिश्चन्द्र लम्साल र विद्यालय सञ्चालक समितिका अध्यक्ष महेन्द्र वाग्लेसहित विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

भैरवकाली माध्यमिक विद्यालय लमजुड. जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ४ रिस्तीफाँटमा अवस्थित छ । यो लमजुड., तनहुँ र कास्की जिल्लाको संगम क्षेत्र शिशाघाट उपत्यकामा पर्दछ ।

Share Now