- प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २४ भाद्र । रसुवा बाढीको दुई साता नाघिसक्दा अधिकारीहरूले मानवीय क्षतिको प्रष्ट आकार थाहा पाउन तत्काल सम्भव नहुने र पहिचान र पुष्टिको काम वर्षौँ चल्ने देखिएको बीबीसीलाई बताएका छन्।
“हराएकाको यथार्थ तथ्याङ्क अझै हामीसँग छैन। त्यसबाहेक कतिपय शवहरू कहिल्यै फेला नपर्न पनि सक्छन्”, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले भन्नुभयो।
नेपाल प्रहरीको विवरण अनुसार फेला परेका झण्डै १ हजार ४ सय वटा शवहरूमध्ये करिब ५ सयको आंशिक अङ्ग मात्र छन्। तिमध्ये करिब एक सयवटा शव मात्र उनीहरूका परिवारजनले बुझ्न सकेको बताइएको छ।
बेपत्ताको सङ्ख्यामा सरकारकै दुई निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरीबीचको सङ्ख्यामा करिब १ हजार ३ सयको अन्तर छ।
मङ्गलवार साँझ सार्वजनिक विवरण अनुसार प्राधिकरणले करिब ५ हजार ३ सय जना सम्पर्कविहीन बताइरहँदा प्रहरीले भने करिब ४ हजार १ सय जना बेपत्ता रहेको उल्लेख छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले भन्नुभयो, “अहिले जति जना सम्पर्कविहीन हुनुहुन्छ भनिएको छ त्यसको वास्तविक सङ्ख्या त्यति नै नहुन पनि सक्छ। त्यसमध्येकै पनि मृत वा उद्धार भएका हुन सक्नुहुन्छ।”
उहाँ भन्नुहुन्छ, “शव पहिचान नभइसकेकालाई कानुनतस् हामीले सम्पर्कविहीनबाट हटाउन पनि मिल्दैन।”
कहिल्यै सामना नगरेको सकस
प्रहरी अधिकारीहरूले शव सङ्कलनबारे यसअघि कहिल्यै सामना नगरेको सकस झेलिरहेको बताउँछन्।
केन्द्रीय प्रवक्ता काफ्लेले अब प्रहरीले चीनतर्फको सीमादेखि भारतसम्मै खोलाका दुवै किनारामा पुरिएका घर, ओडार लगायतका संरचना खोजतलाज गर्ने एउटा ठूलो अभियान सुरु गर्न लागेको बताउनुभयो।
“ड्रोन, तालिमप्राप्त कुकुर, बाइनाकुलरसहितको प्रयोग गर्दै हामी ठूलो जनशक्ति प्रयोग गरेर त्यस्तो काम गर्दैछौँ”, काफ्लेले भन्नुभयो ।
विपद्को पहिलो मार खेपेको रसुवागढी नाकाभन्दा तलपट्टि दुई सय किलोमिटर भन्दा पर त्रिवेणीधामनजिक करिब दुई साता पुग्दै गर्दा पनि शवहरू सङ्कलन गरिएको छ।
भारतसँगको सीमावर्ती जिल्ला नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता मदन थापा भन्नुहुन्छ, “हामीले सग्लै भेटेका शव पनि अनुहारका भरमा पहिचान गर्न सक्ने एउटै थिएन। अवशेषका रूपमा भेटिएका शवको त झनै ठूला चुनौती छन्।”
२०० भन्दा धेरै शव सङ्कलन गरे तापनि थापा कार्यरत प्रहरी इकाईले ९ वटा मात्र शव परिवारलाई हस्तान्तरण गर्न सक्यो।
“त्यो पनि शव चिनेर नभई ट्याटुका कारणले सम्भव भएको थियो”, थापा भन्नुहुन्छ, “अवशेषहरू एक जनाकै एउटा भन्दा धेरै हुनसक्ने सम्भावना पनि रह्यो।”
खस्कँदो आशा
भदौ १० को उक्त विपद्मा परेर सम्पर्कविहीन बनेका कैयौँका परिवारले लास वा सास दुवैको आशा मारेर दिवङ्गतको प्रतिकका रूपमा कुशको शव बनाउँदै अन्तिम संस्कार गरेका छन्।
एकजना सेवा निवृत्त फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती हाल फेला परेका शव र तिनका अवशेषकै डीएनए म्याचिङ गर्दै मृत्यु पुष्टि गर्ने काममा सरकारलाई महिनौँ लाग्ने ठान्नुहुन्छ ।
“यति धेरै शवका लागि डीएनएको बाटो लिइँदा यो निकै लम्बे प्रक्रिया हुन आउँछ। त्यसका लागि महिनौँ लाग्न सक्छ”, आफ्नो करिअरमा १५ हजार भन्दा धेरै शवको परीक्षण गरेको बताउने वस्तीको भनाइ छ।
“सुरुवाती केही दिनका शवलाई डकुमेन्ट गर्दा मृतकका ट्याटु, खत र उसका शवसँग जोडिएका हुनसक्ने गरगहनाजस्ता अन्य वस्तुका आधारमा पहिचान गर्न जोड दिनुपर्थ्यो। सुरुवाती चार(पाँच दिन औँठा छाप लिन सकिने परिस्थिति पनि रहन्थ्यो।”
ठूला विपद्मा शव पहिचान गर्न त्यस्ता विधिहरू अन्यत्र प्रयोग भएको बताउँदै उहाँले नेपालले त्यो अवसर गुमाइसकेको पनि बताउनुभयो।
प्रहरी प्रवक्ता काफ्लेले आफूहरूका लागि यो वर्षौँ चल्ने ठूलो र निरन्तरको जिम्मेवारीका रूपमा रहने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “ठूलो गेगरानमा शवहरू पुरिएका छन्। जुन शव बर्खा सकिएपछि वा बर्खाका भेलमा बिस्तारै निस्कन सक्छन्। यो देशभित्र र बाहिरका हजारौँ परिवारको लामो पीडासँग जोडिने विषय पनि हो। जसको जहिले भए पनि ससम्मान सङ्कलन र पुष्टि गर्ने काम प्रहरीले गर्नेछ।”
नेपालले भारतमा समेत शवहरू पुगेको हुनसक्ने जनाए तापनि हालसम्म त्यहाँबाट कम्तीमा १९ वटा शव नेपाल पठाइएको विवरण रहे तापनि त्यस्तो वास्तविक सङ्ख्या उच्च हुनसक्ने अधिकारीहरूको आकलन छ।
अब डीएनए परीक्षणकै भर
हाल मुख्यतः नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला र खुमालटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण हुने गरेको छ।
“यसअघि धेरैजसो फौजदारी विषयको अनुसन्धानका क्रममा वा सम्बन्ध कायम सम्बन्धी प्रयोजनमा ती प्रयोग हुन्थे। त्यसमा पहिल्यैका नमूनाका काम बाँकी पनि छन्”, प्रहरी प्रवक्ता काफ्ले भन्नुहुन्छ।
अधिकारीहरू ती दुवै प्रयोगशालामा गरेर यसअघि वर्षमा एक हजारभन्दा कम डीएनए म्याचिङ र प्रोफाइलिङका काम हुने गरेको बताउँछन्।
प्रहरी विवरण अनुसार हालसम्म शवको र सम्पर्कविहीनका परिवारको गरेर डीएनए म्याचिङका लागि २ हजार ६ सय भन्दा धेरै नमूना सङ्कलन गरिएको छ।
प्रहरीले सम्पर्कविहीन रहेकाहरूकाको परिवारलाई ७६ वटा जिल्लाबाटै नमूना दिन सक्ने जनाएको छ।
विपद्को तेस्रो दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालसँग सीमित फरेन्सिक सुविधा रहेको भन्दै त्यसको पहिचानमा विदेशी सहयोगको अपेक्षा राखेको बताउनुभएको थियो।
अधिकारीहरूले हाल भारत, चीन, दक्षिण कोरिया, सिङ्गापुर लगायतका विभिन्न देशबाट सहायतामा त्यससम्बन्धी उपकरणहरू र विदेशी विज्ञहरू पनि नेपाल आएको प्रहरीले जनाएको छ।
अधिकारीहरूले हताहत भएकाको सङ्ख्या निकै ठूलो रहेको बताउँदै जेसुकै भए पनि वास्तविक जानकारी दिलाउने काम महत्त्वपूर्ण हुने बताउँछन्।
प्राधिकरण प्रवक्ता शान्ति महतले हालको कानुन अनुसार १२ वर्षसम्म बेपत्ता भएकालाई मात्र मृत घोषित हुने भएकामा अभूतपूर्व विपद्का बेला भएकोले अब केही महिनामा झार्ने गरी निर्णय गर्नेबारे छलफल भइरहेको बताउनुभयो।








