ख्वप (भक्तपुर), २४ भदौः पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाइँदै छ ।
ऐतिहासिक परम्पराअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान च¥हे’ का दिन यो पर्व मनाउने गरिन्छ । आज यहाँका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराउने गरिन्छ ।
काठमाडौँ उपत्यका तथा आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पञ्चदानको आफ्नै मौलिकता विशेषता छ । स्थानीय भाषामा पञ्चदानलाई ‘पञ्जदान’ वा ‘पञ्जरां’ भनिन्छ । यस दिन पृथ्वीबाट उत्पादित अन्न तथा फलफूललगायत पाँच प्रकारका वस्तु दान गर्ने परम्परा छ ।
भक्तपुर नगरपालिका–९ सूर्यमढीमा बस्ने जमुुना कासिछ्वाले पञ्चदानको दिन बिहानै टोलको सूर्यमढी डबलीमा ल्याउने भएकोले दान गर्न बसेको बताउनुभयो । दिउँसो खेतमा जानुपर्नेहरु बिहानै यहाँ आएर दान गर्न आउने गरेको उहाँले बताउनुुभयो । साथै आज पञ्चदानको दिन घरघरमा क्वाटी बनाएर खाने चलन छ ।
भक्तपुरका स्थानीय अल्बर्ड बज्राचार्यले यसअघि नगरका विभिन्न पाँच स्थानमा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढी ल्याउने बताउनुुभयो । प्रशन्नशील महाविहार क्वाठण्डौं मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही, भक्तपुर मिनीबसपार्कको दीपङ्कर बुद्धलाई सूर्यमढीस्थित डबलीमा राख्ने गरिन्छ ।
स्थानीले आफ्नो गच्छेअनुसार पाँच दीपङ्कर बुद्धलाई धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौँला, बोडी, काँक्रोलगायत जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु चढाउने परम्परा छ ।
पञ्चदानका अवसरमा स्थानीले बिहानैदेखि शाक्य, बज्राचार्य तथा भिक्षुलाई भिक्षाअर्थात् दान दिने चलन छ । भक्तपुर नगरपालिका–१० क्वाठण्डौं बस्ने उज्ज्जवलचन्द्र बज्राचार्यले आफूू ३–४ वर्षको उमेरदेखि पञ्चदानमा सहभागी हुँदै आएको बताउनुुभयो ।
आजभोलिका युवा पञ्चदान लिन लजाउने गरेको उहाँ बताउनुुहुन्छ । त्यसैले पञ्चदानमा पहिलाको तुलनामा कम सहभागी हुने गरेका छन् । दीपङ्कर बुद्धसँगै बौद्धमार्गी बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने उहाँले बताउनुभयो ।
काठमाडौँ उपत्यका तथा अन्य क्षेत्रमा मनाइने पञ्चदानभन्दा भक्तपुरको पञ्चदान फरक र विशेष किसिमको छ ।
विभिन्न सामग्री दान गर्ने परम्परा
पञ्चदानका दिन पूजामा सूर्यमुखी फूल, धूप, दीप, गन्ध र रस तथा भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाँटी, केराउ, मास, पिँडालु, मुलालगायतका वस्तु दान गर्ने गरिन्छ । त्यस्तै पेय पदार्थमा सख्खर पानी (सखत), सिसाफल तथा अन्य फलफूल, औषधिमा हर्रो, अमला, गुलःलगायत नून, तेल र आवश्यक सामग्री दान गर्ने परम्परा छ ।
सियो, धागो, डोरी, कुचो, सेतो कपडा, काषाय वस्त्र, आसन, खरीढुङ्गा, चक तथा दतिवनलगायतका वस्तु पनि दान गर्ने गरिन्छ । भक्तपुर नगरको पूर्वमा रहेको आदिपद्म महाविहारबाट सुरु हुने पूजा नगरको पश्चिमस्थित थथुवहीमा पुगेर सम्पन्न गर्ने परम्परा छ ।
पञ्चदानका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म भिक्षाग्रहणका लागि लामबद्ध भएर नगर परिक्रमा गर्ने तथा भिक्षा ग्रहण गर्ने प्रचलन छ । पञ्चदानको अर्को प्रमुख विशेषता गुँलाबाजा बजाउनु हो । टौमढीमा बौद्धमार्गीले दान गाथा तथा स्तोत्र वाचनसँगै गुँलाबाजा बजाउने गर्दछन् ।
यस पर्वमा विशेषरूपमा बजाइने गुँला धाः बाजासँगै प्वंगा, दाफा भजन तथा श्रृङ्गभेरीलगायत परम्परागत बाजागाजाका समूहले दीपङ्कर बुद्धको यात्राका क्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिने प्रचलन छ ।
अल्बर्ड बज्राचार्यले आफू बुद्धका अनुयायी भएकाले आर्जन गरेको आयको केही अंश दानका लागि छुट्याएर पञ्चदान पर्वका दिन दान गर्ने परम्परा रहेको बताउनुभयो । पाँच दीपङ्कर बुद्धलाई पाँच पाण्डव नभई ती पाँचवटा दीपङ्कर बुद्ध नै रहेको छ ।
भक्तपुर नगरपालिका–२ तेखाचोस्थित जेतवर्ग महाविहार आरती गुथि नेवा सङ्घले पञ्चदानमा चढाइने सामग्री छुट्टाछुट्टै प्याकिङ गरी व्यवस्थितरूपमा चढाउन श्रद्धालुलाई अनुरोध गरेको जनाएको छ ।