Prakash Adhikari September 14, 2026

ह्युस्टन, २९ भदौ (रासस/एएफपी) : अमेरिकाले सोमबारदेखि जी–२० का विभिन्न बैठकहरू सुरु गरेको छ । अमेरिकाले बैठकमा ‘ऊर्जाको प्रचुरता’ लाई प्राथमिकताका रूपमा अघि सारे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्धले विश्वव्यापी इन्धन बजारमा गम्भीर असर पारिरहेको छ ।

बैठकहरू तेल उत्पादनका लागि प्रसिद्ध अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा बुधबारसम्म सञ्चालन हुनेछन् । विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू बैठकमा सहभागी हुँदैछन् । चीन, भारत, जापान र जर्मनीलगायत देशका प्रतिनिधि सहभागी हुनेछन् भने क्यानडा र साउदी अरबजस्ता प्रमुख तेल उत्पादक राष्ट्र पनि बैठकमा उपस्थित हुनेछन् ।

रुसी अधिकारीहरूले शनिबार मस्कोले पनि केही अधिकारीलाई बैठकमा पठाउने संकेत गरेका थिए । दुई साताअघि भएको जी–२० को बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको अप्रत्याशित उपस्थितिले समेत चर्चा पाएको थियो ।

युक्रेनका युरोपेली सहयोगी राष्ट्रहरूले भने रुसलाई बैठकमा आमन्त्रण गर्ने अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन् । युक्रेनमाथिको युद्धका कारण रुसलाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग राख्ने प्रयास भइरहेका बेला अमेरिकाले मस्कोलाई आमन्त्रण गरेको भन्दै उनीहरूले निराशा व्यक्त गरेका हुन् ।

ह्युस्टनमा जी–२० बैठक भइरहेका बेला मध्यपूर्वमा जारी युद्धका कारण तेल तथा ग्यासको मूल्य बढिरहेको छ । युरोपले जाडोयाम सुरु हुनुअघि आफ्ना ग्यास भण्डारण केन्द्रहरू पर्याप्त रूपमा भर्न संघर्ष गरिरहेको छ ।

जी–२० को अध्यक्ष राष्ट्रका रूपमा अमेरिकाले सस्तो, भरपर्दो र सुरक्षित ऊर्जामा पहुँच विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएको छ । तर, फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ ।

अमेरिकामा इन्धनको मूल्यसमेत तीव्र रूपमा बढेको छ । अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार डिजेलको मूल्य प्रतिग्यालन ६.२० अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। नियमित पेट्रोलको मूल्य पनि युद्ध सुरु हुनुअघिको तुलनामा ४४ प्रतिशतले महँगिएको छ ।

युद्ध र त्यसबाट उत्पन्न आर्थिक असरका कारण ट्रम्पको रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पराजयको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले आफूलाई राजनीतिक रूपमा कमजोर बनाउन युद्ध लम्ब्याइरहेको आरोप लगाउँदै आउनुभएको छ । उहाँले हालै निर्वाचनपछि युद्ध ‘तत्काल’ अन्त्य हुने दाबीसमेत गर्नुभयो ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण अमेरिकामा डिजेलको अभाव सिर्जना भएको आरोप पनि लगाएका छन् ।

अमेरिकी ऊर्जा सचिव क्रिस राइट र आन्तरिक मामिला सचिव डग बर्गम पनि ह्युस्टनमा हुने जी–२० बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ । भेनेजुएलासँग सम्बन्धित अमेरिकी ऊर्जा नीतिमा राइटको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

Share Now