Prakash Adhikari September 20, 2026

कोपेनहेगन(डेनमार्क), ४ असोज (बीबीसी) । अमेरिका र डेनमार्कले ग्रीनल्यान्डको सुरक्षासम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि सुरु भएको कूटनीतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ।

ट्रम्पले उक्त सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने बताउनुभएको छ।

डेनमार्ककी प्रधानमन्त्री मेड फ्रेदरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रमा सुरक्षा मजबुत बनाउने बताउनुभएको छ।

तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोष्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे उहाँले केही बताउनुभएन ।

यो सम्झौता ग्रीनल्यान्डलाई लिने भन्दै ट्रम्पले महिनौँदेखि दिँदै आएको धम्कीपछि आएको हो।

उहाँले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै ग्रीनल्यान्डको रणनीतिक भौगोलिक अवस्थिति तथा त्यहाँ रहेका खनिजलाई यसको कारणका रूपमा उल्लेख गर्नुभएको थियो।

ट्रम्पले के भने?

ट्रम्पले ट्रूथ सोसलमा गरेको पोस्टमा यो सम्झौतामा अमेरिकालाई कुनै लागत नपर्ने र अमेरिकालाई ग्रीनल्यान्डको सुरक्षा सुनिश्चित गर्न तथा रक्षा गर्न आवश्यक पर्ने काम गर्न सक्ने अधिकार प्रदान गर्ने बताएका छन्।

उहाँका अनुसार सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृतिबिना कुनै पनि अमेरिकी प्रतिद्वन्द्वीले ग्रीनल्यान्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ।

डेनमार्ककी प्रधानमन्त्री मेड फ्रेदरिक्सनले उक्त सम्झौतामा आगामी साता संयुक्त राष्ट्र सङ्घको महासभामा हस्ताक्षर गरिने पुष्टि गरेकी छन्।

उहाँले यो सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रमा हाम्रो साझा सुरक्षा मजबुत बनाउने बताउनुभयो। साथै यसले डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डता तथा ग्रीनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई पनि मान्यता दिने बताउनुभयो।

उहाँले उक्त सम्झौताका लागि अझै सांसदहरूको स्वीकृति आवश्यक रहेको र यो लागू हुन आवश्यक संसदीय प्रक्रियाबाट पारित हुनुपर्ने बताउनुभयो।

ग्रीनल्यान्ड सरकारका अध्यक्षले सम्झौताको घोषणा गर्दै जारी गरेको वक्तव्यमा भन्नुभएको छ, “ग्रीनल्यान्ड, डेनमार्क र अमेरिकाको सुरक्षा सुनिश्चित तथा मजबुत बनाउने सम्झौतामा प्रवेश गर्न लागेकामा खुसी लागेको छ।”

“यो सम्झौताले ग्रीनल्यान्डका हितहरू र अन्तर्राष्ट्रिय सहकार्यमा हाम्रो स्थानलाई मान्यता दिन्छ। यो हामी सबैको हितमा छ”, उहाँले भन्नुभयो।

ट्रम्पले महिनौँदेखि खनिजले धनी डेनमार्कको यो भूभागलाई खरिद गर्ने वा अमेरिकामा गाभ्ने प्रयास गर्दै आउनुभएको थियो। उहाँले ग्रीनल्यान्ड, रुस तथा चीनलगायतका प्रतिद्वन्द्वी मुलुकबाट जोखिममा रहेको तर्क गर्नुभएको थियो।

उहाँले ग्रीनल्यान्डमा सैन्य कारबाही गर्नेसमेत धम्की दिनुभएको थियो जसले डेनमार्कका नागरिक र अन्य नेटो सदस्य राष्ट्रहरूबाट व्यापक विरोध निम्त्याएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई ऐतिहासिक सम्झौता र अमेरिका तथा अमेरिकी जनताका लागि ठूलो सफलता भन्नुभएको छ।

उहाँले एउटा वक्तव्यमा भन्नुभएको छ, “यो सम्झौताले ग्रीनल्यान्डसम्बन्धी हाम्रो राष्ट्रिय सुरक्षा चिन्तालाई स्थायी र पूर्ण रूपमा सम्बोधन गर्छ।”

सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन। बीबीसीले डेनमार्कको दूतावास र ह्वाइट हाउससँग यसबारे प्रतिक्रिया मागेको छ।

यद्यपि अमेरिकी विदेशमन्त्रालयका एक नाम नखुलाइएका अधिकारीले सम्झौताका बारेमा विस्तृत जानकारी नदिई यसबारे बताएका छन्

Share Now