काठमाडौँ, १७ असोजः नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ ।
कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते दिउँसो २ः०० बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदैछ । त्यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नुभएको थियो । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुहुने भने उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ ।
महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भन्नुभयो, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।” गत पुस २८ देखि माघ ३ गते सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसको यस महाधिवेशनबाट पैतिस वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन् ।
‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ यस महधिवेशनको मूल मन्त्र राखिएको छ । “छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा गहन छलफल हुनेछ र यसको कार्यान्वयनको खाका तयार गरिने छ”, प्रवक्ता चालिसेले भन्नुभयो, “यो महाधिवेशनले यी सङ्कल्पलाई कसले कार्यान्वयन गर्न सक्छ भनेर नेतृत्व चयन गर्नेछ । यो महाधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माण गर्नमा केन्द्रित हुनेछ ।”
नेपाली राजनीतिमा कांग्रेसले धेरै इतिहास रचेको र अब नयाँ इतिहास निर्माण गर्न चाहेको उल्लेख गर्दै उहाँले कांग्रेसले अब बिपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने र यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपी विचारलाई बनाइने जानकारी दिनुभयो । महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउनेक्रम जारी रहेको र झण्डै सात हजार ५०० महाधिवेशन प्रतिनिधि रहने पार्टी कार्यालयले जनाएको छ ।
आजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु भएको छ । महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत रु तीन हजार ५०० बुझाउनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको जनाएको छ ।
सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको आवास व्यवस्थापन समितिले जनाएको छ । भोलि आइतबारको उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री, र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्नुहुने तालिका छ ।
प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताउनुभयो । निर्वाचन समितिले असोज १९ गते अपराह्न २ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुनसक्ने निर्वाचन समितिले जनाएको छ ।
सहभागीहरूले प्रयोग गर्ने निजी कार तथा मोटरसाइकल पार्किङ गर्न भृकुटीमण्डप, राष्ट्रियसभागृह र पुरानो बसपार्क क्षेत्र निर्धारण गरिएको छ । ठूला बसका हकमा भने माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था मिलाइएको छ । कांग्रेसको १५औँ महाधिवेशनका सूचना अद्यावधिक गर्न महाधिवेशन स्थल खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरी मिडिया ब्रिफिङ हुने उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो
नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।
यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । प्रतिनिधि बस्नका लागि सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष ढकालले बताउनुभयो । “देश र विदेशबाट आएका १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ । बस्नका लागि समस्या भएमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजीकरण गर्ने धमलाले बताउनुभयो । कांग्रेसले पार्टीको वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यको बारेमा राखेकाले कुनै अलमलमा परेमा उक्त विवरण हेर्न सकिने जनाएको छ । महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।
हिमाल लम्साल/रासस काठमाडौँ, १४ असोजः गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो मानवीय र भौतिक […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, १७ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]