कीर्तिपुर (काठमाडौं), १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेलहरू हुँदैछन्।
आज हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिने विराटनगर किंग्स कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजसंग भिड्ने छ ।
सन्दीपको टिममा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया र प्रतिक श्रेष्ठ लगायतका स्वदेशी प्रतिभावान खेलाडीहरू रहेका छन्। विराटनगर किंग्स्मा इमरान शेख, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंका विदेशी स्टार खेलाडीहरू आबद्ध छन्। सन्दीपले प्लेइड. ११ मा कसकसलाई उतार्छन, नतिजा त्यसमा निर्भर रहन्छ ।
यता कुशल मल्लको कप्तानी रहेको चितवन राइनोजको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, विवेक यादव, मौसम ढकाल, विपिन रावल, गौतम केसी लगायतका स्वदेशी खेलाडी छन् भने रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली, सलाहुद्दिन खान र उसामा मीर जस्ता अनुभवी तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विदेशी खेलाडीहरू पनि समावेश छन्।
त्यस्तै, आजै साँझ ५ः०० बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दास, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौटेला, रित गौतम र सन्तोष कार्की समेटिएका छन्। टोलीमा जिमी निशम, मोइन अली र इफ्तिकार अहमदजस्ता कीर्तिमानी विदेशी खेलाडीहरू पनि रहेका छन्।
कर्णाली याक्सको कप्तानी विगतमा झै सोमपाल कामीले सम्हालेका छन्। यस टिममा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन जस्ता खेलाडीहरू समावेश छन्। पाकिस्तानी क्रिकेट बोर्डको नयाँ शर्तका कारण कर्णालीमा अनुबन्ध भईसकेका केही खेलाडीहरुको सहभागिता अन्योलमा परेको छ ।
सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेलहरू आगामी कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपश्चात मङ्सिर १ गते पहिलो र दोस्रो स्थानका टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ भने मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ। यसैगरी, मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ भने मङ्सिर ५ गते फाइनल तय गरिएको छ।







