Prakash Adhikari October 27, 2026
कोलम्बो(श्रीलंका)/हैदरावाद(भारत), १० कार्तिक । बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालयका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गरिएको जनाएको छ । यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
आँधीको अप्रत्यक्ष प्रभावका कारण पछिल्ला दिनमा श्रीलङ्काका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका धेरै क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।
भारतमा उद्धारकार्य तीव्र
भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ ।
विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । केही जिल्लामा मङ्गलबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ ।
राज्यका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिनुभएको उहाँको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । द इन्डियन एक्सप्रेस का अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने चार हजार सात सयभन्दा बढी गर्भवती महिलालाई अस्पतालमा सारिएको छ ।
भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्ण रूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ । आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पु¥याउन सक्ने विभागको अनुमान छ ।
बङ्गालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई ‘हरिकेन’ र प्रशान्त महासागरमा ‘टाइफुन’ भनिन्छ । यसपटक एल निनो मौसमी घटनाले तापक्रम असाधारण रूपमा बढाएकाले आँधीको मौसम थप शक्तिशाली बनेको समाचारमा उल्लेख छ ।
यसैबीच, छिमेकी श्रीलङ्कामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ । त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोस्थित विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ ।
–––
Share Now