काठमाडौँ, १७ कात्तिकः नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।
कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भरखरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन ।
यससँगै विराटनगरले पहिला ब्याटिङ गर्नेछ । प्रतियोगितामा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तीन खेल नै खेलको जनकपुर बोल्ट्स दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ ।
चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको थियो ।
त्यसअघि काठमाडौँ गोर्खाजमाथि ८ विकेटको जित निकालेको थियो । त्यसैगरी आफनो पहिलो खेलमा भने जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो ।
समान तीन खेल खेलेको विराटनगरले एक खेलमा जित तथा दुई खेलमा हार ब्यहोरेको छ । विराटनगर अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
विराटनगरले सुदूरपश्चिम रोयल्समाथि जित निकालेको थियो । त्यसअघि कर्णाली याक्ससँग ४ विकेट तथा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।