अन्ताल्या (टर्की), २३ कात्तिक (रासस/एएफपी): बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय सहकार्य कठिन बन्दै गएका बेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ ।
भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा दुई सातासम्म चल्ने सम्मेलनमा एक लाखभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । करिब २०० देशका प्रतिनिधिले ऊर्जा सङ्क्रमणलाई तीव्रता दिने तथा विकासशील राष्ट्रलाई जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने विषयमा छलफल गर्नेछन् ।
इरानसँगको अमेरिकी युद्ध र युक्रेनमा जारी रुसी द्वन्द्वका कारण उत्पन्न ऊर्जा मूल्यवृद्धि तथा भूराजनीतिक तनावले सहमति जुटाउने प्रयास जटिल बनाएको छ । यस वर्ष युरोपको उष्ण हावाको लहर, इन्डोनेसियाको वन डढेलो र हिमनदी पग्लिएपछि नेपालमा आएको विनाशकारी बाढीले जलवायु सङ्कटको गम्भीरता उजागर गरेका छन् ।
यसै वर्षको अन्त्यतिर शक्तिशाली एल निनो उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । यसले चरम मौसमी घटना बढाउनुका साथै सन् २०२६ वा २०२७ लाई हालसम्मकै सबैभन्दा तातो वर्ष बनाउन सक्ने पूर्वानुमान छ । संयुक्त राष्ट्रसङ्घले गत सेप्टेम्बरमा विश्वको औसत तापक्रम पूर्वऔद्योगिक अवस्थाभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको चेतावनी दिएको थियो ।
यसैबीच, टर्कीले सम्मेलनको अध्यक्षता र अस्ट्रेलियाले वार्ताको नेतृत्व गर्ने विशेष व्यवस्था गरिएको छ । यसपटकको सम्मेलनलाई विगतका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित गर्दै ‘कार्यान्वयन कोप’ नाम दिइएको छ । टर्कीले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा हालको २० प्रतिशतबाट बढाएर ३५ प्रतिशत पु¥याउने अभियान अघि सारेको छ ।
तर, जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा देशहरूबीच मतभेद कायमै छ । युरोपेली सङ्घ (इयु) ले स्वच्छ विद्युतीकरणमा जोड दिएको छ । सन् २०२३ को कोप–२८ मा जीवाश्म इन्धनबाट क्रमशः टाढिने प्रतिबद्धता जनाइए पनि त्यसको कार्यान्वयनमा सहमति जुट्न सकेको छैन । गत वर्ष ब्राजिलमा सम्पन्न कोप–३० पनि तेल उत्पादक राष्ट्रहरूको विरोधका कारण जीवाश्म इन्धनको स्पष्ट उल्लेखबिनै टुङ्गिएको थियो ।
विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि आर्थिक सहयोग उपलब्ध गराउनु पनि सम्मेलनको प्रमुख चुनौती बनेको छ । अफ्रिकी राष्ट्रहरूले समुद्री पर्खाल निर्माण र खडेरी प्रतिरोधी बाली लगाउनेजस्ता कामका लागि अनुकूलनसम्बन्धी वित्तीय सहायता तीन गुणा बढाउन माग गरेका छन् । तर, युरोपेली सङ्घ (इयु) का एक वरिष्ठ अधिकारीले थप आर्थिक सहयोगका लागि राजनीतिक इच्छाशक्ति कमजोर रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट अलग गरेपछि अमेरिकी सरकारका अधिकारी सम्मेलनमा सहभागी भएका छैनन् । यद्यपि, मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलतापछि अमेरिकी कङ्ग्रेसको प्रतिनिधिमण्डल अन्ताल्या आउने भएको छ ।
दुई सातासम्म कठिन वार्ता हुने अपेक्षा गरिए पनि सम्मेलनको वातावरण सकारात्मक रहेको अजरबैजानका प्रमुख वार्ताकार याल्चिन रफियेभले बताउनुभएको छ । उहाँले सकारात्मक वातावरणलाई ठोस र सफल परिणाममा परिणत गर्न सहभागी राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ ।