काठमाडौं, २ मंसिर । नेपालको शेयर बजार बुधबार पनि ओरालो लागेको छ । यस दिन धितोपत्र बजारपरिसूचक ११.०५ अंक घटेर २६२५.०५ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४७ स्टकको १ करोड १ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँबराबरको कारोवार भएको छ।
यस दिन मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।
दोहोरो अंकले परिसूचक घटेको बजारमा सानिमा लार्ज क्याप फण्ड, कुमारी सबल योजना एनआईएमबी प्रमोटर, लिबर्टी इनर्जी, एनएमबी डिबेञ्चर ८७।८८, उपकार लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रोटेक इण्ड्रट्रिज, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर र सनराइज फष्र्ट म्युचुअल फण्डको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
कारोबारमा आएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ८।६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ भने भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।यस दिन शेयर मूल्य अघिक घटेका कम्पनीहरुमा सिर्जनशील लघुवित्त,चिर्ख्वा हाइड्रो, आरम्भ चौतारी लघुवित्त, अपर लोहरेखोला हाइड्रो, सर्वोत्तम पेन्ट्स र ओम मेगाश्री फर्मास्युटिकल्स रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४९ प्रतिशत घटेको छ।






