कीर्तिपुर(काठमाडौंं), ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेपछि सुदूरपशिचमले बलिङमा उत्रिने छ ।
चितवनले हिजो सम्पन्न काठमाडौं गोर्खाजविरुद्धको एलिमिनेटर खेलमा ६१ रनले विजयी हुँदा टस जितेर पहिले ब्याटिङ गरेको थियो।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो।
एनपीएलको फाइनलमा नयाँ टोली पुग्ने वा पुरानैले निरन्तरता पाउने आजको खेलबाट निर्धारण हुनेछ।
सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको विजेताले शनिबार लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
सुदूरपश्चिम त्यो टोली हो जसले पछिल्लो दुबै संस्करणको फाइनल खेलेको छ। सुदूरपश्चिम, लुम्बिनी र जनकपुर बोल्ट्स मात्र अहिलेसम्म फाइनलमा पुगेका छन् । चितवन आजको खेलमा विजयी भएमा एनपीएलको फाइनल पुग्ने चौथो टोली बन्नेछ । दोस्रो क्वालिफायर पुग्नु पनि चितवनको अहिलेसम्मको उच्च प्रदर्शन हो। पहिलो संस्करणको एलिमिनेटरबाट बाहिरिएको चितवन दोस्रो संस्करणमा प्ले अफ पुग्न असफल भएको थियो।
सुदूरपश्चिम पहिलो पटक दोस्रो क्वालिफायर खेल्दैछ। यसअघिका दुबै संस्करणमा पहिलो क्वालिफायर जित्दै सोझै फाइनल पुगेको थियो।
सुदूरपश्चिम र चितवनको भेट
सुदूरपश्चिम र चितवनबीच एनपीएलमा चौथो पटक भेट हुँदैछ। ३ पटक भेटमा २ पटक सुदूरपश्चिम र १ पटक चितवन विजयी भएको थियो।
यो सिजनको लिग चरणमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो।
चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।
पहिलो संस्करणमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो। चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १ सय ३१ रनमा समेटिएको थियो।
दोस्रो संस्करणको खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले हराएको थियो। सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १ सय २० रनमा अलआउट भएको थियो।
लिग चरणमा सुदूरपश्चिम दोस्रो हुँदै पहिलो क्वालिफायर र चितवन चौथो हुँदै एलिमिनेटरमा पुगेको थियो।






