
धनगढी(कैलाली),१८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारीहरुलाई पदमा राखेर अनुसन्धान गर्दा प्रमाणहरु लुकाउने र नष्ट गर्ने संभावना भएकोले अनुसन्धान प्रक्रिया फरक ढंगबाट सुरु गरिएको बताउनुभएको छ ।
प्रमुख आयुक्त घिमिरेले धनगढीमा आइतबार आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बर्द्धन सम्बन्धी अन्तरकृयामा सो जानकारी दिनुभएको हो । उहाँले पहिले थुन अनि सुनको अवधारणमा आफूले काम गरिरहेको बताउँदै पर्याप्त प्रमाणहरु पुगेको अवस्थामा पहिले थुन्ने र त्यसपछि मात्रै बाँकी अनुसन्धान अघि बढाइने बताउनुभयो ।
कन्चनपुरको महेन्द्रनगरमा अख्तियारको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार धनगढी पुग्नुभएका प्रमुख आयुक्त धिमिरेले गैरसरकारी संस्थाहरुमा पनि भ्रष्टाचार हुने गरेको सूचना आइरहेकोले गैरसरकारी संस्थाहरुको पनि निगरानी गर्न पाउनुपर्ने दावी गर्नुभयो ।
गैससको निगरानी गर्नका लागि अहिले मन्त्रिस्तरिय बैठकमा प्रस्ताव लगिएको जानकारी दिंदै प्रमुख आयुक्त घिमिरेले प्रस्ताव पारित भए गैरसरकारी संस्थाहरुलाई समेत अख्तियारले अनुसन्धान र कारवाहीका दायरमा ल्याउने बताउनुभयो ।
कार्यक्रममा उहाँले जनताले वडास्तरबाटै सुशासनको महसूस गर्न पाउनु पर्ने बताउनुभयो ।
धनगढीमा आइतबार आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बर्द्धन सम्बन्धी अन्तरकृयामा प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुलाई सुशासन सम्बन्धी जानकारी गराइएको बताउँदै अब जनताले महसूस गर्ने गरी त्यस्ता कार्यक्रमहरुलाई वडास्तरमा समेत संचालन गरिने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको भ्रमणको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रदेशका मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा कार्यालय प्रमुखहरुलाई इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्बाह गर्न निर्देशन दिदै प्रमुख आयुक्त घिमिरेले गलत गर्ने कोही नबच्ने बताउनुभयो ।