Prakash Adhikari November 17, 2018

 

काठमाडौं, १ मंसिर। गत आर्थिक बर्षको आयबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सरकारले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको छ। सरकारले करयोग्य व्यवसायलाई वर्गीकरण गरि हरेक क्षेत्रबाट सबैभन्दा धेरै कर तिर्ने एक व्यक्ति वा संस्थालाई सम्मान गरेको छ । सरकारले आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरेको हो।

आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने संस्थामा सूर्य नेपाल सम्मानित भएको छ। कर दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा कम्पनीका उपाध्यक्ष रवि केसीले अर्थमन्त्री डा. युवराज खतिवडाबाट सम्मान ग्रहण गर्नुभयो ।

सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगीमा सिद्धार्थ राणा सम्मानित हुनुभएको छ ।

निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ। कम्पनीका वित्त नियन्त्रक आदित्य भार्गवले सम्मानपत्र ग्रहण गर्नुभयो।

उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ। कम्पनीका वित्त नियन्त्रक उमेश शर्माले सो सम्मानपत्र ग्रहण गर्नुभयो ।

कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि सम्मानित भएको छ। कम्पनीका कार्यकारी निर्देशक डा. दिनेश गौतमले सो सम्मान ग्रहण गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै कर तिर्ने संस्था नबिल बैंक भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सम्मानपत्र ग्रहण गनुभयो।

बीमा व्यवसायतर्फ नेपाल पुुनर्बीमा कम्पनीले धेरै कर तिरेको छ। कर दिवसका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गर्नुभयो।

सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त सम्मानित भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले सम्मान ग्रहण गनुभयो ।

पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल सम्मानित भएको छ। तारागाउँका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले सम्मानपत्र ग्रहण गनुभयो।

स्वास्थ्य तथा शिक्षा तर्फ बिराटनगरको नोबेल मेडिकल कलेजले धेरै कर तिरेको छ। कम्पनीकी उपाध्यक्ष इन्दिरा शर्मा बरालले सम्मानपत्र ग्रहण गर्नुभयो ।

सूचना प्रविधितर्फ एफ वान सफ्ट इन्टरनेशनल सम्मानित भएको छ। कम्पनीका अध्यक्ष विश्वास ढकालले अर्थमन्त्रीबाट सम्मानपत्र ग्रहण गर्नुभयो ।

व्यापारमा सिप्रदी ट्रेडिङ सम्मानित भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्मान ग्रहण गर्नुभयो।

४० करोड रुपैयाँसम्म व्यवसाय गर्ने मध्यमस्तरीय करदताबाट नेपाल इन्भेष्टमेन्ट लिमिटेड सम्मानित भएको छ।

४० देखि ८० करोड रुपैयाँ कारोबार गर्नेमध्येबाट नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ। नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले अर्थमन्त्री डा. खतिवडाबाट सम्मानपत्र ग्रहण गनुभयो।

यस्तै पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । कर दिवसका अवसरमा कम्पनीका वित्त प्रमुख उद्धव तिमल्सिना सो सम्मान ग्रहण गर्नुभयो।

Share Now

Leave a comment.