कीर्तिपुर(काठमाडौं),२२ मंसिर । एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आज शनिवार हुने उद्घाटन खेलमा साविक विजेता राष्टिय क्रिकेट टीमका कप्तान पारस खड्काले नेतृत्व गरेको बिराटनगर वारियर्स र राष्टिय टीमका उपकप्तान रहेका ज्ञानेन्द्र मल्लकोललितपुर प्याट्रिएट्सबीच भिडन्त हुने भएको छ ।
नेपाली राष्टिय टीमका कप्तान पारस खड्काको कप्तानीमा रहेको बिराटनगर वारियर्समाबसन्त रेग्मी, अनिल साह, आसिफ सेख, आकाश विष्ट, रामनरेश गिरी, प्रनित थापा, सुमित महर्जन, पुष्प थापा, हरीबहादुर चौहान, बिदेशी खेलाडीहरु बाबर हयात( हंगकंग) रोल्फ भान डर मर्वे (नेदरल्याण्ड( र पल भान मिकिरिन (नेदरल्याण्ड) रहेका छन भने राष्टिय टीमका उपकप्तान रहेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा बनेको ललितपुर प्याट्रीएट्समा, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, रासिद खान, शंकर राना, पवन सर्राफ र सोनु तामांग , सुमित झा, बिदेशी खेलाडीहरु सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर रहेका छन् ।
इपीएलको गतबर्षको प्रतियोगितामा बिराटनगर वारियर्स र ललितपुर प्याट्रिएट्सले लिग चरणमा एक खेल मात्र खेलेका थिए। सो खेलमा बिराटनगरले ६ रनको रोमान्चक जित निकालेको थियो।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको प्याट्रीएट्सको स्पिन पक्ष बलियो मानिएको छ किनकि टिममा सन्दिप लामिछाने, ललित राजबंशी, पवन सर्राफ जस्ता नेपाली तथा सन्नी पटेलको उपस्थिति रहेको छ। सन्दिप पहिलो २ खेल खेलेर बिग ब्यास खेल्न अस्ट्रेलिया गए पनि राम्रो स्पिनरको कमि भने प्याट्रीएट्सलाई हुनेछैन।
ब्याटिंगमा भने ज्ञानेन्द्र मल्ल पछि ठुलो नाम नरहे पनि पोखरा प्रिमियर लिग पिपिएलमा उत्कृस्ट ब्याटिंग गरेका गौरब तोमर, पिपिएलमा उत्कृस्ट खेलाडी चुनिएका सन्नी पटेल र गत सिजन टिमको लागि सर्वाधिक रन बनाएका जयकिशन कोल्सावालाको उपस्थितिले टिमलाई सन्तुलित बनाएको छ। टिमको तिब्र गति बलिङ्गको जिम्मेवारी युवा बलरहरु राशिद खान, नारायण जोशी र सन्दिप जोराले सम्हाल्नेछन्।
यु(१९ स्तरमा राम्रो सम्भावना देखाएका अफ(स्पिन अलराउण्डर पवन सर्राफ, मध्ये क्रम ब्याट्सम्यान सन्दिप जोरा , ब्याटिंग अल(राउण्डर योगेन्द्र सिंह कार्की , ब्याट्सम्यान शंकार राना आक्रामक ब्याट्सम्यान कुशल भुर्तेलले आफुलाई प्रमाणित गर्ने हो भने ललितपुर बिपक्षीको लागि खतरनाक टिम सावित हुनेछ।
बिराटनगर वारियर्स
गत संस्करणको विजेता टिम पारस खड्का कप्तानीको बिराटनगर वारियर्सले यो पटक पनि उपाधिको दाबेदारी प्रस्तुत गर्नेछ। पारस खड्काको कप्तानी टिमको सबैभन्दा महत्वपूर्ण पक्ष हो भने राम्रा बिदेशी खेलाडीहरुको उपस्थितिले टिमलाई मजबुत बनाउछ।
गत सिजन प्लेयर अफ द सिरिज चुनिएका बाबर हायात, नेदरल्याण्डका तिब्र गति बलर प्ल भान मिकिरिन, अर्का नेदरल्याण्ड अनुभवी अलराउण्डर देब्रे हाते स्पिन र दायाँ हाते ब्याट्सम्यान रोल्फ भान् डर मर्वे तथा भारतीय खेलाडी स्मित पटेलको उपस्थितिले टिमलाई उत्कृस्ट बनाउछ। अझ भान् डर मर्वेसंग आइपिएल र बिग ब्यास तथा अन्य बिदेशी लिग खेलेको अनुभब रहेको छ जो एकल प्रयासमा खेल जिताउने क्षमता राख्छन्।
बाबर हायात इमर्जिङ्ग टिम्स कप खेलीरहेको हुनाले सुरुवाती केहि खेल गुमाउने छन् जसको अनुपस्थितिमा समित पटेलले खेल्ने छन् जसले पनि माथिल्लो क्रममा ब्याटिंग र स्पिन बलिङ्गमार्फत राम्रो योगदान दिन सक्छन्। यो पटक घाइते भएका कारण अर्का हंगकंग क्रिकेटर अंशुमन रथले भने बिराटनगरको लागि खेल्न सकेनन्।
वारियर्सको स्पिन पक्षको नेतृत्व स्टार लेफ्ट आर्म स्पिनर बसन्त रेग्मीले गर्नेछन् भने अर्का लेफ्ट आर्म स्पिनर भान् डर मर्वेले उनलाई साथ दिनेछन्। ब्याटिंगमा पारस खड्का, अनिल साह, आशिफ शेख जस्ता राष्ट्रिय खेलाडीहरुले नेतृत्व गर्नेछन् भने युवा खेलाडीहरु प्रनित थापा, सुमित महर्जन, हरिबहादुर चौहानले टिमलाई बल प्रदान गर्नेछन्। पल भान मिकिरिनले नेतृत्व गर्ने तिब्र गति बलिङ्ग बिभागमा रामनरेश गिरि रहेका छन्।