Prakash Adhikari December 17, 2018

 

कीर्तिपुर(काठमाडौं), १ पुस । भैरहवालाइ ६ विकेटले हराउदै ललितपुर एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा प्रवेश गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा ९२ रनमा सीमित भयो । ५ रन बनाउदा दुई विकेट खेर फालेको उसका ओपनर मोहम्मद नाभिद र प्रदिप ऐरी मात्र दुई दुई रनमा आउट भए । भैरहवाले ४० रन बनाउदा चार विकेट खेर फाल्यो । रवीइन्दर सिंह २५ रनमा पेभेलियन फर्किए भने शरद भेषवाकर मात्र एक रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि मात्र चार रनमा आउट भएपछि भैरहवाले ४९ रनमा पाँचौ विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको भैरहवाका खेलाडी एकपछि अर्को रुपमा आउट हुँदा सस्तैमा समेटियो । उसका रोहितकुमार पौडेल सात रनमा आउट भए भने कृष्ण कार्की चार तथा कुशल मल्ल मात्र तीन रनमा पेभेलियन फर्किए । भैरहवालाई कम स्कोरमा रोक्न सन्नी पटेलले ५ तथा रासिद खान र योगेन्द्रसिंह कार्कीले दुई दुई विकेट लिए ।

जवाफमा ललितपुरले १४ ओभर दुइ बलमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । १० रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले १५ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर गौरव तमोर नौ रनमा आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल मात्र चार रनमा पेभेलियन फर्किए । त्यसपछि कुशल भुर्तेलपनि मात्र दुई रनमा आउट भएपछि उसले २४ रन जोड्दा तेस्रो विकेट गुमायो ।

पवन सर्राफ ब्यक्तिगत २५ रनमा आउट हुँदा ६६ रन बनाएको ललितपुरका तर्फबाट जयकिशन कोल्सावालाले २२ र सन्दिप जोराले १८ रन बनाउदा उसले सहज जित हात पार्यो ।

Share Now

Leave a comment.