
काठमाडौं, ३ पौष । नेपालको सबैभन्दा ठूलो राष्ट्रिय प्रतियोगिता मानिएका एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियसले काठमाडौं किङ्गसइलेभेनमाथि विजय प्राप्त गरेको छ ।
कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर ललितपुर प्याट्रियसले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गर्यो । ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रहृयो ।
काठमडौं किङ्गस इलेभेनले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुर ललितपुर प्याट्रियसले १६।४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । ललितपुर ललितपुर प्याट्रियसका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे ।
ललितपुर ललितपुर प्याट्रियसका लागि कप्तान मल्लले पनि २० रन बनाए । अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ललितपुर ललितपुर प्याट्रियसका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए ।
काठमाडौं किङ्गस इलेभेनका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किङ्गस इलेभेनले १८।३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो । काठमाडौंका लागि अोपनर अमित श्रेष्ठले २७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन् । उसका लागि श्रीलंकाली ब्याट्सम्यान अक्षु पर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए । काठमाडौं किङ्गस इलेभेनका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्केका थिए ।
बलिङतर्फ ललितपुर ललितपुर प्याट्रियसका भारतीय बलर सुबोध भाटीले सर्बाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिए ।