काठमाडौं, ४ माघ । स्वास्थ्य शिक्षामा व्यापार रोक्ने माग लिएर १६ औं पटक अनशन बसेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे उहाँ अनशन बसेको इलामबाट काठमाडौं ल्याइएको छ।
उहाँलाई त्रिभुवन विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।
स्वास्थ्य शिक्षा विधेयकको विषयलाई लिएर ९ दिनदेखि १६ औं पटकको अनशनमा बस्नुभएका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको डा. अभिषेक सिंहले जानकारी दिनुभएको छ।
ुडा. केसीलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
डा. केसीलाई भद्रपुरबाट बिहानको करिब २ बजे सेनाको हेलिकप्टरमा उडाइएको थियो।उहाँलाई लिन त्रिभुवन विमानस्थलमा अस्पतालको एम्बुलेन्स बोलाइएको थियो ।
केसीलाई काठमाडौं ल्याउन उहाँलाई समर्थन गर्न र उहाँको स्वास्थ्य अवस्था बुझ्न बिहीबार इलाम पुग्नुभएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र डाक्टर सिंहको पहलमा काठमाडौं ल्याइएको हो।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएको थियो ।
ुपहिले त गोविन्द सर काठमाडौँ आउनै मान्नुभएको थिएन, तर हामी सबैले सम्झाएपछि केही बोल्नुभएन। अनि सेनाको हेलिकप्टर मगाएर लिएर आयौं,ु डा.सिंहले भन्नुभयो।
धरानका डाक्टरहरूले केसीमा धेरैथरी समस्या देखिएको बताएका थिए।
डा. केसीको रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा कम छ। सामान्य मान्छेको सुगर ५० भन्दा कम भए बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या आउनसक्छ। ‘
डा. केसीको रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै गएको छ। सामान्यतया रगतमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुनपर्छ तर केसीको रगतमा ८० प्रतिशत हाराहारीमा रहेको छ ।
डा. केसीको रगतमा अल्बुमिन ३.३ ग्राम प्रतिडेसीलिटर मात्र छ। सामान्य मानिसको शरीरमा अल्बुमिनको मात्रा ३.४ देखि ५.४ ग्राम प्रतिडेसीलिटर हुन्छ।
‘अल्बुमिनको कमीले उहाँको खुट्टा सुन्निन थालेको छ। सेतो रक्तकोषिका (डब्लुबिसी) पनि क्रमशस् घट्दै गएको देखियो। प्रोटिन र डब्लुबिसी पनि कम भएपछि शरीरमा संक्रमणको सम्भावना बढी हुन्छ ।
अनसन बस्नुअघि डा. केसीले मुटुको धड्कनका लागि औषधि खाइरहनुभएको थियो।
शरीर कमजोर भइसकेकाले यसपालि अनसनको छैठौं दिनमै केसीको स्वास्थ्यमा धेरै समस्या देखिएको थियो ।


















