Prakash Adhikari January 22, 2019

 

 

काठमाडौं,८ माघ । मेडिकल माफियामुखी विधेयक जबरजस्ती प्रतिनिधिसभामा पेश गरेर पारित गर्न खोजेपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विधेयक टेबल गर्न प्रतिनिधिसभाको रोष्टममा जान खोजेका शिक्षा र विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई बल प्रयोग गरेर रोकेका छन् । यस क्रममा प्रतिपक्षका सांसद र सत्तापक्षका मन्त्री तथा सांसदहरुबीच धकेलाधकेल भएको छ । प्रतिनिधिसभाको बैठकमा अप्रिय स्थिति सिर्जना नहोस् भनेर बैठक आगामी शुक्रबार अपरान्ह १ बजेसम्मको लागि स्थगित गरिएको छ ।

 

आजको निर्धारित कार्यसूचिमा चिकित्सा शिक्षा विधेयक टेबल गर्ने विषय परेको थियो । तर स्वास्थ्य सेवा प्रतिष्ठानहरुलाई सरकारी ब्यवस्थापन अन्तरगत ल्याउने सम्बन्धमा मन्त्रिपरिषद्ले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरुलाई नसमेटेर नेपाली कांग्रेसको अस्तित्वमाथि नै प्रश्न लगाउन थालेकोले सो कार्य नसच्याईकन सदन सञ्चालन हुन नदिने निर्णय गरेको थियो । यसै अनुरुप राष्टियसभामा विरोध गरेपछि माथिल्लो सदनको बैठक प्रधानमन्त्री ओली स्वीजरल्याण्डबाट फर्केपछि रहने गरि स्थगित भएको छ ।

प्रतिनिधिसभामा भने सरकारको सो निर्णय नसच्याईकन स्वास्थ्य शिक्षा विधेयक पनि विपक्षीका सरोकार र यस विषयमा १६ औं पटक अनसन बसेर सरकारसंग सहमति कायम गर्नुभएका त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालय महाराजगञ्जका प्राध्यापक डा. गोविन्द के.सी.का माग पनि नसमेटिएकोले कांग्रेसले सो विधेयक टेबुल गर्नपनि रोक्ने रणनीति लिएको थियो ।

मंगलबार प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसद प्रकाशमान सिंहले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल संघीय सरकारमातहत राख्ने निर्णय मन्त्रिपरिषदबाट नभएसम्म संसदका कुनै कामकारबाही अघि बढ्न नदिने बताउनुभएको थियो।

सांसद सिंहले बोलिसकेपछि कांग्रेस सांसदहरू बेल घेराउ गर्न पुगेका थिए।

सांसदहरू देवप्रकाश तिमल्सेना र रंगमति शाही अग्रपंक्तिमा थिए। कांग्रेस सांसदहरूलाई बेलको बीचमा नपुग्दै मर्यादापालकले रोके।

त्यसपछि सांसदहरूले संसदको मर्यादा कायम गर्न भन्दै नाराबाजी गरे। यसपछि बैठक १५ मिनेट स्थगित भयो ।

१५ मिनेटपछि शुरुभएको बैठकमा सभामुखले माननीय सदस्यहरु बैठकको कारबाही प्रारम्भ हुन्छ, अब म माननीय शिक्षा र विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समितिको प्रतिवेदन सहित चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको बैठकसमक्ष पेश गर्न अनुमति दिन्छु भन्न नपाउदै नेपाली कांग्रेसका सांसदहरु मन्त्रीलाई रोक्न जर्याक जुरुक उठे ।

नेकपाका प्रमुख सचेतक खगराज अधिकारी र सचेतक देवप्रसाद गुरुड.ले घेरेर मन्त्री पोखरेललाई रोष्टम पुर्याउन खोजेका थिए । कांग्रेसका सांसदहरुले रोके । कांग्रेसका सांसदहरुले बेल घेर्न पुगेपछि सांसदहरुलाई हटाउन पुगेका मर्यादापालकलाई लक्षित गर्दै नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कड्किएर बेलमा कहाँसम्म आउने भन्ने मर्यादापालकले तय गर्ने? यो सभामुखको आदेश हो कि गृहमन्त्रीको ? सभामुखले पदको मर्यादा राख्नुपर्छ भनेपछि सभामुखले प्रतिनिधिसभाको बैठक माघ ११ गते शुक्रबार दिउँसो १ बजेसम्मको लागि स्थगित गर्नुभयो ।

कांग्रेस सांसद गगन थापाले सभामुखले पार्टीको कार्यकर्ता जसरी प्रतिपक्षलाई साथमा नलिईकन सभा सञ्चालन गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले दुई तिहाईको उन्मादमा सरकारले निषेधको राजनीति सुरुआत गरेको र त्यसको विस्तार संसदसम्म आईपुगेको बताउदै भन्नुभयो , ‘प्रमुख प्रतिपक्षलाई त उभिने ठाउँ दिँदैन भने कम्युनिष्टहरुलाई अनियन्त्रित छाड्यो भने बाँकी कसैले यो देशमा उभिन पाउँछु भन्ने भ्रम नपाले हुन्छ ।’

Share Now

Leave a comment.