Prakash Adhikari February 14, 2019

 

भुवनेश्वर(भारत),१ फागुन । आफू भन्दा ४६ औं वरियतामाथि रहेको इरानलाई हराउँदै नेपाली महिला फूटबल टीमभारतमा भैरहेको हिरो गोल्डकप महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार नै भएको म्यानमार र भारतबीचको दोस्रो खेलमा म्यानमारले भारतलाई पराजित गरेपछि प्रतियोगिातामा दोस्रो स्थानमा रहदै नेपालको फाइनल प्रवेशको ढोका खुलेको हो ।

यसअगाडि बुधबार भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको महत्वपूर्ण खेलमा फिफा वरियताको १०६ औं स्थानमा रहेको नेपालले ६० औं वरियताको इरानलाई ३–० ले हरायो ।

नेपालको जितमा पहिलो गोल खेलको ४१ औं मिनटमा अनिता बस्नेतले गरीन् । त्यस्तै थप दुई गोल भने खेलको ५९ र ८९ औं मिनटमा साबित्रा भण्डारीले गरिन । यो प्रतियोगितामा साबित्राको गोलसंख्या चार पुगेको छ । यसअघि उनले भारत विरुद्ध पनि निर्णायक दुई गोल गरेकी थिईन् ।

आफ्नो पहिलो खेलमा म्यानमारसँग हारेको नेपालले त्यसपछिको लगातार दुई खेल जित्दै प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बन्न गयो ।

म्यानमारद्वारा भारत पराजित, नेपाल फाइनलमा

हिरो गोल्डकप महिला च्याम्पियनसिपतर्फ बुधबार भएको दोस्रो खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कालिंगा स्टेडियममा सम्पन्न खेलमा म्यानमारका लागि खेल शुरु भएको दोस्रो मिनटमै जुली क्यावले पहिलो गोल गरिन भने खेलको अन्तिमतिर ९३ औं मिनटमा विन थिंग टुनले दोस्रो गोल गरेर विजयलाई सुनिश्चित गरिन ।

यो नतिजासँगै ९ अंक जोडेको म्यानमार र ६ अंक जोडेको नेपाल फाइनलमा प्रवेश गरेका छन् भने ३ अंक जोडेको भारत र अंकविहीन इरान प्रतियोगिताबाट बाहिरिएको छ ।

अब उपाधिका लागि म्यानमार र नेपालले शुक्रबार फाइनल खेल्नेछन् ।

Share Now

Leave a comment.