शारजहाँ(यूएई), ११ फागुन । पाकिस्तान सुपर लिग ( पिएसएल ) अन्तर्गत नेपाली त्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर कलन्दर्स शनिवार सम्पन्न खेलमा क्वेट्टा ग्लाडियटर्ससंग पराजित भएको छ।
आफ्नो दोस्रो खेल खेल्ने क्रममा सन्दीपले क्वेट्टा बिरुद्ध कसिलो बलिंग प्रदर्शन गरेपनि लाहोरले दिएको १ सय ४४ रनको लक्ष्य क्वेट्टाले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्दै ३ विकेटको जित हात पार्यो।
खेलमा नेपाली क्रिकेट स्टार सन्दीप ले ४ ओभरको स्पेलमा मात्र २० रन खर्चिंदै १ विकेट हात पारे।
खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो। लाहोरका लागि कप्तान एबि डिभिलियर्सले सर्वाधिक ४५ रन जोडेका थिए। यस्तै सोहेल अख्तरले २९ र डेभिड विजाले २० रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन।
अविजित ४५ रन जोड्ने क्रममा डिभिलियर्सले ४० बलमा २ चौका प्रहार गरेका थिए। यस्तै २९ रन जोड्न अख्तरले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा विजाले १६ बलमा १ छक्का सहित २० रन जोड्ने।
लगातार अन्तरालमा विकेट गुमाएको लाहोरले साझेदारी बनाउन नसक्दा सोचेको अनुरुप स्कोर जोड्न सकेको थिएन। ओपनर फखर जमान ३, सलमान बट् ५ र कोरि एन्डरसन १९ रन जोड्दै पभेलियन फर्किंदा टोलीले ७८ रन जोड्न ४ विकेट गुमाइसकेको थियो।
क्वेट्टाको बलिंगतर्फ घुलम मुद्दसरले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै सोहेल तनवीरले २ तथा मोहम्मद नवाज र अनवर अलिले समान १।१ विकेट लिएका थिए।
जवाफमा दोस्रो इनिंगमा क्वेट्टाको समेत सुरुवात राम्रो रहन सकेन। ओपनर शेन वाट्सन खाता नखोल्दौ पभेलीयन फर्किंदा टोलीले १ रनमा १ विकेट गुमाएको थियो। त्यसपश्चात व्यक्तिगत १७ रन जोड्दै अर्का बिदेशी खेलाडी रयाली रुसो आउटहुँदा क्वेट्टा २६।२ को अवस्थामा पुग्यो। त्यस लगत्तै उमर अक्मल हरिस रौफको शिकार बन्दा टोली ५३।३ को अवस्थामा खस्कियो।
सुरुवाती तिन विकेट पश्चात टोलीको इनिंग उकास्न कप्तान सरफराज अहमद र अह्सन अलिले चौथो विकेटका लागी २४ रनको साझेदारी गर्दै टोलीको इनिंग अघि बढाए। एक किनारबाट विकेट खस्ने क्रम निरन्तर रहेपनि अर्को किनार भने कप्तान सरफराजले सम्हालिरहे।
संयमित भएर ब्याटिंग गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका सरफराजले अन्तिम बलमा जितको लागि २ रन आवश्यक रहंदा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। व्यक्तिगत ५२ रनमा अविजित रहेका उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
लाहोरको बलिंगतर्फ हरिस रौफले २ विकेट तथा यासिर साह, सन्दीप लामिछाने, डेभिड विजा र राहत अलिले समान १।१ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त रहेन।


















