
हनोई(भियतनाम),१६ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता विना नै सम्पन्न भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभयो । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन ।
उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभयो । तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।”
उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताउनुभएको छ । नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताउनुभयो ।
कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो । हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयोः “मेरो विचारमा यो निकै स्वागतयोग्य कदम हो ।”
उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भन्नुभयो, किमले अगाडि सारेको यो प्रस्ताव निकै ठूलो कुरा हो ।