
पोखरा,१७ फागुन । ताप्लेजुड.को फुड.लिड. १० तारेभिरमा हेलिकोप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखराको रामघाटमा अन्त्येष्टि भएको छ ।
रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए ।
अन्त्येटिमा उहाँलाई नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।
अधिकारीको शव दिउँसो काठमाडौंबाट पोखरा लगिएको थियो ।
दिवंगत मन्त्री अधिकारीको गृहनगर पोखरास्थित प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा सम्पन्न भएपछि उहाँको रामघाटसम्म शवयात्रा निकालिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा हजारौं सर्वसाधारण सहभागी थिए ।
श्रद्धाञ्जलीमा उर्लियो पोखरा
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा जीवन गुमाउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरलाई गृहनगर पोखरामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
पोखरा प्रदर्शनी केन्द्रमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सिंगो पोखरा उर्लिएको थियो ।
अधिकारीको शवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाउनुभयो भने नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाउनुभयो ।
श्रद्धाञ्जलीका लागि काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा आउनुभएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरुले पनि दिवंगत मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।