
पोखरा(कास्की), २८ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हालै सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग फागुन २४ गते गरेको सम्झौता राष्ट्रघाती भएको आरोप लगाउनुभएको छ।
मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले मुलधारको राजनीतिमा ल्याउने नाममा राष्ट्रघाती सम्झौता भएको दावी गर्नुभयो।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओली र उहाँका मन्त्रिपरिषद्का सदस्यहरुको दावी विपरित सम्झौता पत्रमा हस्ताक्षर गर्ने सी.के. राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गरिरहेको बताउदै देशको सार्वभौभिक अखण्डताका बारेमा प्रश्न उठाउने विषय र जनमतको प्रसंग नेपाली कांग्रेसलाई स्वीकार्न हुन नसक्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री रहनुभएका देउवाले ‘यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको खण्डन नआउनु बरु जनकपुरमा जनमत संग्रहको नारा घन्किनुले सबैलाई आश्चर्य चकित बनाएको पनि बताउनुभयो ।
काङ्ग्रेस सभापति देउवाले फागुन २६गते म्याग्दीमा नेपाल प्रेस युनियनको जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको थियो ।
उहाँले ‘देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको तर्क दिनुभएको थियो ।
सो कार्यक्रममा समेत सभापति देउवाले सरकार र राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत सङ्ग्रहका रुपमा स्वीकार गर्न नसकिने बताउदै भन्नुभएको थियो, ‘मैले सरकारले सहमति गरेको भन्ने सुनेको छु, तर सबै बुँदा पढेको छैन, नेपालको केही भूभागको विषयमा जनमत सङ्ग्रह हुन सक्दैन ।’
कांग्रेस सभापति देउवाले सो सहमतिमा रहेका केही बुँदाका अस्पष्टतालाई सरकारले प्रस्ट पार्नु पर्ने विचार प्रकट गर्नुभएको थियो ।
नेपाली कांग्रेसका संसदीय दलका पदाधिकारीहरु प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भूसाल तथा राष्टिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईँले पनि सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतबीच भएको सहमतिको दुवै पक्षले आफू अनुकूल व्याख्या गर्दा अन्यौल उत्पन्न भएको जनाउदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन नसक्ने बताएका थिए ।
कांग्रे संसदीय दलका पदाधिकारीहरुले सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सि.के. राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमत संग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको र राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका व्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था श्रृजना भएको जनाएका छन् ।
कांग्रेसको संसदीय दलका पदाधिकारीहरुले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलापप्रति घोर आपत्ति प्रकट गरेका छन् ।