Prakash Adhikari March 12, 2019

निरञ्जन राजवंशी / बीबीसी नेपाली सेवा

काठमाडौं, २८ फागुन (बीबीसी) । मङ्गलवारदेखि विराटनगरमा शुरू हुने दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता जित्न नेपाल लालायित छ।

पाकिस्तानबाहेक दक्षिण एसियाका छ राष्ट्र सम्मिलित प्रतियोगिता शहीद रङ्गशालामा १० दिन चल्ने छ।

काठमान्डूबाहिर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको नेपालका लागि सफल आयोजना र घरेलु दर्शक अगाडि प्रतियोगिता जित्ने चुनौती छ।

तर यी दुबै सहज छैन। अहिलेसम्मका चार संस्करण जितेको भारत सबैभन्दा बलियो प्रतिस्पर्धी हो।

महिला फुटबलको पुनर्जन्म

हरेक दुई वर्षमा आयोजना हुने गरी सन् २०१० बाट महिला साफ च्याम्पियनसिपको शुरुवात हुनुलाई दक्षिण एसियाली महिला फुटबलको पुनर्जन्म मानिन्छ।

सुषुष्त अवस्थामा रहेको महिला फुटबल सोही सालबाट दक्षिण एसियाली खेलकुद साग गेम्समा पनि समावेश गरिएपछि महिला खेलाडीलाई थप बल दिएको थियो।

नेपाली महिला फुटबलको लागि यी दुई प्रतियोगिता बरदान सावित भएको छ।

नेपाली खेलाडीहरू उपाधि दावेदारको रुपमा जुर्मुराएका छन्।

सुषुष्त अवस्था

प्रतियोगिताकै अभावका कारण अवसर कम पाइने हुनाले दक्षिण एसियाको महिला फुटबल सुषुप्त अवस्थामा नै रहेको थियो।

दुई वर्षमा एकपटक आउने एसियन ओमन च्याम्पियनसिप एवम् चार वर्षमा आउने ओलिम्पिक र एसियन गेम्सको छनोटको अवसर हुन्थ्यो, तर महिला टोलीको सहभागिताको ग्यारेन्टी हुँदैन थियो।

महिला फुटबल र महिला खेलाडी राज्यको प्राथमिकतामा परेको थिएन।

तर साफको नियमित आयोजनापछि बाँग्लादेश, पाकिस्तान, भूटान र श्रीलंकाको महिला फुटबल पनि उदाएको छ।

बाँग्लादेश त अहिले साफको दावेदार राष्ट्रको सूचीमा आइसकेको छ भने बढी गोल खाने पाकिस्तान र भुटानको खेल स्तर क्रमिक रुपमा बढ्दै आएको छ।

नेपाली टोली
नेपाली महिला टोलीको प्रशिक्षक पूर्व राष्ट्रिय कप्तान हरि खड्का रहेका छन्

 

नेपालको प्रदर्शन

विसं २०६० पछि सशश्त्र प्रहरी बलले महिला फुटबल क्लबको स्थापना गरेर महिला खेलाडीको संरक्षण गरिसकेको थियो र त्यसलाई दुई विभागीय टोली नेपाल पुलिस र नेपाली सेनाले पनि निरन्तरता दिँदा खेलाडीहरूको नियमित ‘फर्म’ साफ च्याम्पियनसिपको पहिलो संस्करणमा प्रस्तुत भयो।

सो प्रतियोगितामा नेपालले आफ्नो दरिलो उपस्थिति देखायो। छिमेकी भारतसँग कडा टक्कर अनि बाँकी प्रतिद्धन्दीलाई नेपालले कमजोर साबित गर्दै दबदबा नै कायम गर्‍यो।

घरेलु प्रतियोगिताको सीमित दायरामा अड्किरहेको नेपाली चेलीहरू यस्तै अवसर पर्खिरहेका थिए।

फुटबल विश्लेषक सञ्जिव मिश्र भन्छन्, “विभागीय टोलीको संरचनाले महिला खेलाडीलाई बाँध्ने काम गर्‍यो र नयाँ प्रतिभालाई ढोका पनि खोलिदियो।”

तीनवटा साफ च्याम्पियनसिपमा नेपाल लगातार फाइनलमा पुग्यो। साग गेम्सको दुई संस्करणमा पनि त्यही प्रदर्शनलाई निरन्तरता दियो। तर प्रतिद्धन्दी भारतको शक्तिलाई भने नेपालले कहिले चिर्न सकेन। सबै प्रतियोगितामा भारत विजेता बन्यो।

फुटबल

नेपालका जमुना गुरुङ र अनु लामा जस्ता अग्रपङ्क्ति खेलाडीहरू चर्चामा आए। अहिले सावित्रा भण्डारीले त्यो भूमिका निभाइरहेकी छिन्। दक्षिण एसियाकै एक उत्कृष्ट स्ट्राइकरमा उनको चर्चा चुलिएको छ।

नेपालको दावेदारी

फाइनल पुगेर उपाधी जित्न नसकेको लामो पीडा विराटनगरको शहीद रङ्गशालामा भुल्ने विश्वास खेलाडीदेखि प्रशिक्षकले गरेका छन्।

यसको दुईवटा स्पष्ट कारण छन्।

पहिलो, एक महिना अगाडी भारतमा भएको हिरो कप प्रतियोगितामा भारतलाई उसकै भूमिमा पराजित गर्नु र त्यसअघि भएको ओलिम्पिक छनोटमा बराबरी खेल्नु।

दोस्रो, इरान जस्तो बलियो टिमलाई हिरो कपमा नै पराजित गरेको नेपाली टोलीको उत्कृष्ट फर्म।

यस बाहेक घरेलु दर्शक र घरेलु मैदानमा खेल्दा पाउने हौसलाले पनि खेलको नतिजा फरक पार्ने विश्वास गरिएको छ।

प्रशिक्षक हरि खड्का भन्छन्, “हामीसँग ताजा इतिहासको साथ छ। गत महिनाका जितले जुन हौसला दिएको छ, त्यसलाई निरन्तरता दिएर उपाधीसम्म पुर्‍याउने ने मेरो प्रयास हुनेछ।”

बलियो चुनौती

तर स्थिति सोचेजस्तो सहज छैन।

तुलनात्मक रूपमा कमजोर देखिँदै आएको भुटान विरुद्धको मङ्गलवार हुने खेल नेपालले सहजै जित्ने अनुमान गरिएको छ। तर त्यसमा नेपालले गर्ने प्रत्येक गोलको फाइनल पुग्ने अङ्कगणितसँग जोडिएको छ।

अर्थात नेपालले बढी भन्दा बढी गोल नगरे समस्यामा पर्न सक्छ।

किनकी नेपालले दोस्रो खेल बाँग्लादेशसँग खेल्नेछ। र बाँग्लादेश उपाधिको दावेदार हो। यदि बाँग्लादेश र नेपालविच हुने खेलमा नेपालले जित हात पार्न सकेन भने समूहको दोस्रो स्थानमा रहेर भारतसँग सेमीफाइनल खेल्नु पर्ने खतरा रहन्छ।

यदि खेल बराबर भएमा नेपालले भुटानलाई गरेको भन्दा बढी गोल गर्ने प्रयास बाँग्लादेशको हुनेछ।

यी सबै प्रयास सेमीफाइनलमा भारतसँगको भेटलाई पन्छाउनुको लागि हुनेछ।

सदावहार बलियो भारत

उपाधि जित्न सदावहार बलियो भारतसँग सेमीफाइनलमा नै भेट्न कुनै राष्ट्ले खोज्नेछैनन्।

गत संस्करणमा भारतसँग सेमीफाइनलमा नै भेट हुँदा नेपाल पहिलो पटक साफको फाइनल पुग्नबाट वञ्चित भएको थियो।

अनि फाइनलमा भारतलाई पन्छाउनुपनि सजिलो कार्य मानिएको छैन। भारतसंग हिरोकपमा पाएका सफलताका बावजुद भारत निसन्देह बलियो प्रतिद्धन्दी हो।

त्यसको अर्थ नेपाल कमजोर होइन। नेपालसँग यसपटक खेल जित्ने ‘एडभान्टेज’ छ र त्यो प्रयोग गर्ने सहि समय पनि छ।

कप्तान निरु थापा भन्छिन्, “विगतको यात्राले कमजोरी सुधारेका छौँ। विराटनगरको मौसम र मैदानमा भिजेका छौँ। हौसला चुलिएको छ। देखाउने मैदानमा हो। हाम्रो चाहना हो उपाधि जित्न फेरी भारतलाई हराउने।১”

Share Now

Leave a comment.