सानेपा(ललितपुर), २ चैत्र । नेपाली कांग्रेसले सबै खाले विमतिको समाधान आपसी वार्र्ता, समझदारी, सहमतिको आधारमा शान्तिपूर्ण मार्गबाट खोज्न सरकारसहित सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्माले केही समय यता देशका विभिन्न स्थानमा भईरहेका हिंसात्मक घटना र्र त्यसको समाधानका लागि सरकारले अघि बढाएको प्रतिबन्धात्मक कदमबारे पार्टीको धारणा सार्वजनिक गर्दै त्यस्तो आह्वान गर्नुभएको हो ।
कांग्रेस प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिकया संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ ।
नेपाली कांग्रेसले नेत्रबिक्रम चन्दले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल समेत गरेको छ ।
नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको स्मरण गराउदै कांग्रेसद्धारा जारी विज्ञप्त्मिा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न नसकिने स्पष्ट गर्दै वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसले एक दशकभन्दा लामोमाओवादी हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोजेको मौलिक उदाहरण प्रस्तुत गर्दै अहिले हिंसात्मक व्रिदोहमा गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न पनि अपिल गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार पाल्पामा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममार्फत ‘निषेधले होइन वार्ताले समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले कपिलवस्तुको कार्यक्रममार्फत ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसक्नु भएको छ ।
नेपाली कांग्रेसले ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ नै पार्टीको साझा विश्वास र साझा धारणा रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुबै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराएको छ ।



















