Prakash Adhikari March 20, 2019

 

बेरिया(मोजाम्बिक),६ चैत्र(बीबीसी) । समुद्री आँधी इडाईले दक्षिणी अफ्रिकामा सिर्जना गरेको ठूलो विपत्तिका कारण लाखौँ मानिसहरू प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

त्यहाँबाट प्राप्त विवरणहरूका आधारमा इडाई आँधी पृथ्वीको दक्षिणी गोलार्धमा भएको मौसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्ने राष्ट्रसङ्घको मौसमसम्बन्धी निकायले बताएको छ।

आँधीले प्रहार गरेका मोजाम्बिक, जिम्बाब्वे र मलावीमा अझै बाढीबाट प्रभावित छन्।

मोजाम्बिकका राष्ट्रपति फिलिपी न्युसीले आँधीबाट “ठूलो अनुपातको मानवीय विश्वंस” भएको बताएका छन्।

उनका अनुसार गत हप्ता सो आँधीले प्रहार गरेपछि मोजाम्बिकमा मात्र एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

यस आँधीबाट २५ लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको सहायता निकायहरूले बताएका छन्।

 मोजाम्बिकमा हजारभन्दा बढीको मृत्यु

जाम्बिक सरकारका अनुसार बन्दरगाह सहर बेयरामा मात्र एक लाखलाई तत्कालै उद्धार गर्नुपर्ने आवश्यकता देखिएको छ।

एउटा हवाई सर्वेक्षणमा बुजी नदी फुटेर ५० किलोमिटर सम्मको क्षेत्रफल डुबानमा परेको देखिएको थियो।

इडाई समुद्री आँधी
केही मानिसहरू घरको छानामा बसेका छन् भने केही पानीमा डुबेरै उद्धार कुरिरहेका छन्।

उद्धार गरिएका मानिसहरूले आफ्नो घर र बस्ती भयावह स्थितिमा रहेको बताएका छन्।

आँधी र बाढीले घरमा केही पनि बाँकी नराखेको उनीहरूको भनाइ छ।

उद्धार गरिएकी एक महिला भन्छिन्, “राति मसँगै सुतेकी छोरीलाई बाढीले बगायो। र, अर्को भेलले मलाई झन् पर पुर्‍यायो।”

इडाई समुद्री आँधी

इडाई समुद्री आँधी
आँधीका कारण मोजाम्बिकका विभिन्न स्थानमा बाढी आयो

कठिन उद्धार

बेयराका एक पीडितले के खाने कहाँ सुत्ने थाहा नभएको भन्दै त्यहाँको उक्त विपद्लाई युद्धको अवस्थासँग तुलना गरेका छन्।

अहिले त्यहाँ युद्ध हुँदाको जस्तो अवस्था रहेको उनको भनाइ छ।

पूर्वी जिम्बाब्वेको एउटा आश्रयस्थलमा रहेकी बीबीसी संवाददाता सिङ्घाई नोक्याका अनुसार घाइते मानिसहरू, वृद्ध, महिला र बालबालिकाहरू समेत सकसपूर्ण लामो यात्रा गरेर सुरक्षित स्थलसम्म आइरहेका छन्।

“धेरैले केही दिनदेखि खाना नपाएको बताएका छन्। उद्धारको प्रयास मौसमका कारण मात्र नभई हेलिकप्टरको कमीले पनि ढिलो भएको छ।”

इडाई समुद्री आँधी
द इन्टर्न्याश्नल फेडरेशन अफ रेडक्रस र रेड क्रिसेन्टका अनुसार केही गाउँमा रूख र टेलिफोनका पोलहरू पूरै डुब्नेगरी बाढी आएको थियो।

बाढीको गहिराइ छ मिटरसम्म रहेको बताइएको छ।

मध्य मोजाम्बिकमा झन्डै चार लाख मानिसहरू घरबारविहीन बन्न पुगेको एक सहायता समूहले बताएको छ।

रेडक्रसले त्यहाँ हैजा र पानीजन्य अन्य प्रकोपहरू फैलन सक्ने चेतावनी दिएको छ।

धेरै ठाउँमा सडकको सञ्जाल टुटेकाले राहत र उद्धार चाहिनेभन्दा निकै कम भइरहेको सहायताकर्ताहरूले बताएका छन्।

इडाई समुद्री आँधी

Share Now

Leave a comment.