Prakash Adhikari April 12, 2019

खार्तुम(सुडान),२९ चैत्र(बीबीसी) । सुडानमा नयाँ सैन्य परिषद्ले लगाएको कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा बसिरहेका छन्।

लामो समय सत्तामा रहेका राष्ट्रपति ओमार अल(बशीरलाई महिनौँदेखिको सडक प्रदर्शनपछि पदच्युत गरी बिहीवार पक्राउ गरिएको थियो।

तर प्रदर्शनकारीहरूले सैन्य परिषद् उक्त सत्ताको हिस्सा रहेको बताएका छन्।

पछिल्लो उल्लङ्घनले प्रदर्शनकारी र सेनाबीच हिंसात्मक मुठभेड हुनसक्ने आशङ्काहरू जन्माएको छ।

खतरा

बीबीसी विश्व सेवाका अफ्रिका सम्पादक विल रोस भन्छन्, सुरक्षा फौजका विभिन्न निकाय र मिलिसियाले नै आफ्ना बन्दुक एकअर्कातर्फ तेर्स्याउलान् भन्ने चाहिँ साँच्चैको खतरा हो।

संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ दुवैले संयमित हुन आह्वान गरेका छन्।

७५ वर्षीया बशीर पक्राउ परेको समाचारको खुसियाली धेरै बेर टिक्न सकेन जब प्रदर्शनका आयोजकले सैन्य मुख्यालयबाहिरको धर्ना जारी राख्न आह्वान गरे।

बशीर
‘यो त्यही शासनको निरन्तरता हो,’ सुडानिज प्रोफेसनलस् एशोसियशनका सारा अब्देल जलिलले भने।

‘त्यसैले अब हामीले के गर्नुपर्छ भने शान्तिपूर्ण प्रतिरोध र लडाइँलाई जारी राख्नुपर्छ।’

सरकारी सञ्चारमाध्यमले देखाएको एउटा आधिकारिक विज्ञप्तिमा कर्फ्यू स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु हुनेछ।

सुझाव

‘आफ्नो सुरक्षाका लागि त्यसैअनुसार कदम चाल्न नागरिकहरूलाई सुझाइएको छ,’

विज्ञप्तिमा थप भनिएको छस् ‘सशस्त्र फौज र सुरक्षा परिषद्ले शान्ति र सुरक्षा कायम गर्न र नागरिकको रोजीरोटीको संरक्षणको ख्याल गर्न आफ्नो कर्तव्य निर्वाह गर्नेछ।’

खार्तुमका सडकमा मानिसहरूको भीडले झण्डा फहराउँदै फेरि सत्ता छाड्न ठूलो ठूलो स्वरमा नारा लगाइरहेका छन्।

यसअघि पनि उनीहरूले अल-बशीर विरोधी नारा लगाउँदै ूसत्ता छोड१ू भन्ने नारा लगाएका थिए।

बशीरलाई सुडानको पश्चिमी डार्फर क्षेत्रमा मानवता विरुद्धको अपराध र युद्ध अपराध गराएको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अन्तर्राष्ट्रिय पक्राउपूर्जी जारी गरेको थियो।

उनी हिरासतमा रहेकाले अब उनीमाथि के हुन्छ भन्ने स्पष्ट छैन।

सैन्य ‘कू’ र राष्ट्रपति बशीरको गिरफ्तारी

ओमार अल-बशीर

सुडानमा झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई बिहिबार(११ अप्रिल)मा सत्ताच्युत गरेर गिरफ्तार गरिएको देशका रक्षामन्त्रीले जानकारी दिएका थिए।

सरकारी टेलिभिजनमा बोल्दै  मन्त्री अवाद इब्न ओउफले देशको सेनाले अब दुई बर्षे संक्रमणकालको जिम्मा लिने र त्यसपछि निर्वाचन हुने बताएका थिए ।

उनले देशमा तीन महिनाको लागि संकटकाल लागु गरिएको पनि जानकारी दिएका थिए।

गत केही महिनायता सन् १९८९ देखि सुडानमा शासन गर्दै आएका राष्ट्रपति अल-बशीरका विरुद्ध विभिन्न विरोध प्रदर्शनहरू हुँदै आएका थिए।

सुरक्षित
मन्त्री इब्नओउफले भने ‘सत्ता’ परिवर्तन गरिएको छ र अल-बशीरलाई सुरक्षित स्थानमा राखिने छ।

उनले भने सुडानको संविधानलाई निलम्बन गरिएको छ, थप सूचना नगरिएसम्मका लागि सीमानाकाहरू बन्द गरिएको छ र देशको हवाईक्षेत्र २४ घण्टाका लागि बन्द गरिनेछ।

ओमार अल-बशीरका विरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले एक अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको छ। उक्त अदालतले उनलाई सुडानको पश्चिमी डार्फर क्षेत्रमा युद्ध अपराध गराएको र मानवता विरोधी अपराध गरेको आरोप लगाएको छ।

Share Now

Leave a comment.