
काठमाडौँ, १६ पौष । ग्रिगोरियन क्यालेण्डर अनुसारको नयाँ वर्ष अर्थात जनवरी १ लाई नेपालीहरुले पनि उल्लासमय पर्वका रुपमा मनाउन थालेका छन् ।
नेपालमा आउने विदेशी पर्यटकलाई उनीहरुको गृहमुलुकमा भएजस्तै रमाइलो पस्कने र आफू पनि मिश्रित संस्कृतिको मज्जा लिने अभिप्रायले नयाँ बर्षलार्य लक्षित गरेर नेपालका पर्यटकीय होटल व्यवसायीले लामो देखि नयाँ वर्षमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना सहित विशेष परिकारहरुको स्वाद विदेशी र स्वदेशी पर्यटकहरुलाई चखाउदै आएका छन् ।
काठमाडौमा विदेशी पर्यटकहरुको मुख्य आकर्षण मानिएको ठमेलमा आइतबार साँझदेखि नयाँ बर्षको आगमनका लागि मध्यरातसम्म सडक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । ठमेल पर्यटन परिषद्को आयोजनामा हुने उक्त कार्यक्रममा चर्चित डिजे ‘शिशिर’ र ‘सिजल’ को विशेष प्रस्तुति रहेको छ ।
यस बाहेक पर्यटकहरुलाई मनोरञ्जन दिन ठमेल क्षेत्रका होटल र रेष्टुराँहरुले गेटदेखि नै सिंगारपटार गरेका छन् । ‘न्यू इयर इभ’( नयाँ बर्ष पूर्वसन्ध्या) को तयारीस्वरुप ठमेल क्षेत्र बेहुली झै सिँगारिएको छ । रेष्टुराँको मेनुमा नयाँ परिकारहरु थपिएका छन् ।
ठमेलको ठमेल इको रिसोर्टमा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना हुँदैछ । ठमेल इको रिसोर्ट र इभेन्ट संसार डटकमले संयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा सहभागी हुनेले लाइभ म्यूजिकको साथ नेपाली परम्परागत खानाको स्वादमा भरपुर आनन्द लिनेछन् ।
इको रिसोर्टका सञ्चालकसमेत रहनुभएका वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाका अनुसार म्यूजिकका साथ रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन् । रायन विथ यात्रीको लाइभ म्यूजिक रहने उक्त कार्यक्रममा चर्चित हास्य शृङ्खला ब्रेकफेलका कलाकार तथा अन्य ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।
‘यता ठमेलकै सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ ले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी गरेको छ ।
क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुति रहनाका साथै क्लबमा विभिन्न खानाका परिकारमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।