Prakash Adhikari April 29, 2019

सलमान रावी / बीबीसी संवाददाता, बनारस

भारतको बनारसबाट उम्मेदवारी दिएका प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी निर्वाचन अभियानका क्रममा राष्ट्रवाद, देशभक्ति र सेनाको प्रशंसा गर्दै हिँडेका छन्।

आफूले सेनालाई बलियो बनाएको र स्वतन्त्र राखेकाले सेना ‘सर्जिकल स्ट्राइक’ र हवाई आक्रमणमा सफल भएको दाबी मोदीले प्राय: दोहर्‍याइरहन्छन्।

तर बनारसको चुनावी मैदानमा उनै मोदीलाई एक पूर्वसैनिकले चुनौती दिएका छन्।

सात चरणमा मतदान सम्पन्न हुनेगरी भारतमा एप्रिल ११ मा मतदान सुरु भएको हो।

उत्तर प्रदेशको बनारसमा मतदान हुन बाँकी नै छ।

भाइरल भिडिओ र फौज

मोदीविरुद्ध उठेका पूर्वसैनिकको नाम हो तेजबहादुर यादव हो।

दुई वर्षअघि सीमा सुरक्षा बल (बीएसएफ) का जवान तेजबहादुरको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसमा उनले फौजका जवानलाई दिइने खानाको गुणस्तरबारे प्रश्न उठाएका थिए।

अधिकृतहरूसँग त्यसबारे गुनासो गर्दा पनि केही नभएको र गृह मन्त्रालयमा चिट्ठी लेख्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो।

त्यो भिडिओले सैनिक र राजनीतिक क्षेत्रमा हलचल केही दिन हलचल नै मच्चाइदियो।

सेनाले त्यसबारे छानबिनको आदेश दियो। पछि उनी पदमुक्त भए।

मोदीविरुद्ध किन?

हरियाणाका बासिन्दा तेजबहादुरले आखिर बनारसको चुनावी मैदान किन रोजे त?

सेनालाई लिएर राजनीति गर्ने व्यक्तिलाई हराउन त्यसो गरेको उनको तर्क छ।

उनी भन्छन्, “म काशी विश्वनाथको आशीर्वादले नक्कली चौकीदारलाई हराउन चाहन्छु जसले सेनामाथि राजनीति गर्छन्। उनले हाम्रो सेनाको नाम बदनाम गरे, जसले गर्दा जवानको आत्मविश्वास कमजोर भएको छ।”

उरी आक्रमणपछि सेनाको तर्फबाट गरिएको ‘सर्जिकल स्ट्राइक’ र यस वर्ष पुलवामामा भएको आक्रमणपछि वायुसेनाले पाकिस्तानतर्फ गरेको आक्रमणको श्रेय भारतीय जनता पार्टीका नेता र कार्यकर्ताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिन्छन्।

तेजबहादुर यादव
कतिपय सन्दर्भमा प्रधानमन्त्री मोदी विगतका सरकारले सेनालाई छुट नदिएका कारण देशभित्र आक्रमण भएको आरोप लगाउँछन्।

त्यसबारे तेजबहादुर यादव भन्छन्, “त्यस्तो होइन। सेनाले यसअघि पनि आक्रमण गर्थ्यो। तर त्यसलाई लिएर राजनीति हुँदैनथ्यो। वर्तमान सरकारले सेनाको कामलाई लिएर राजनीति गरिरहेकाले त्यसको उत्तर दिन म निर्वाचनमा उठेको हुँ।”

उनको भनाइ छ, “आजसम्म हामीले सिमानाको रक्षा गर्‍यौँ। तर जबसम्म देशको जवान संसद्‍मा पुग्दैन तबसम्म यो देशको सुरक्षा सुनिश्चित हुँदैन।”

‘पुलवामा आक्रमण कसरी भयो?’

प्रधानमन्त्री मोदी र भाजपा नेता चुनावी सभामा मोदी नेतृत्वमा भारत निकै बलियो बनेको दाबी गर्छन्।

तेजबहादुर यादव भने भारत त्यति बलियो बनेको भए पुलवामा आक्रमण कसरी भयो भनी प्रश्न उठाउँछन्।

उनले त्यसमा षड्यन्त्र लुकेको आशङ्का गर्दै भन्छन्, “मोदीको डर अर्को कुनै देशमा भएको भए पुलवाम जस्ता ठूला आक्रमण कसरी सम्भव भयो? आजसम्म यति ठूलो आक्रमण सेनामाथि भएको थिएन। कतै राजनीतिकै निम्ति उनले आफैँ त्यो आक्रमण गराएका त हैनन्?”

पुलवामा आक्रमणको छानबिन हुनुपर्ने उनको माग छ।

जम्मु-कश्मीरका राज्यपालले नै त्यस घटनामा कुनै त्रुटि भएको स्वीकार गरिसकेका छन् भने त्यसको छानबिन किन गराइएन भन्ने उनको प्रश्न छ।

असली चौकीदार को?

प्रचार सामग्री

तेजबहादुर यादवको प्रचार सामग्री

तेजबहादुर यादवले आफ्नो चुनावी प्रचारमा वितरण गरिरहेको पोस्टरमा आफू देशको असली चौकीदार भएको उल्लेख गरेका छन्।

असली र नक्कली चौकीदारबारे उनी भन्छन्, “यति वर्षसम्म सीमाको चौकीदारी हामीले गर्‍यौँ भने देशको असली चौकीदार पनि त हामी हौँ।”

उनको प्रश्न छ, “यदि मोदीले आफूलाई चौकीदार मान्छन् भने रफाल विमान खरिद प्रकरणको फाइल कसरी चोरी भयो। नीरव मोदी र अन्य व्यक्तिहरू देशबाट भागे भने उनी केका चौकीदार भए?”

चुनावी लाभको निम्ति मोदी र उनको भाजपा सेनाको नाम दुरुपयोग गरेको आरोप लगाउँदै भूतपूर्व उच्च सैनिक अधिकृतहरूले तत्काल त्यो रोक्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए।

Share Now

Leave a comment.