Prakash Adhikari May 6, 2019

 

नयादिल्ली(भारत) ,२३ बैशाख(बीबीसी) । भारतको संसदको तल्लो सदन लोकसभाको चुनावको क्रममा सोमवार सातवटा राज्यमा ५१ सांसद सिटको लागि मतदान हुन लागेको छ।

त्यस क्रममा हिमाली प्रदेश जम्मू-कश्मीरदेखि मध्यप्रदेश र राजस्थानसम्मका सात राज्यमा मतदान सुरु भइसकेका विवरण प्राप्त भएका छन्।

पाँचौ चरणको मतदानको दिन सोमवार मतदाताहरूले कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी, यूपीए गठबन्धनकी प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृती ईरानी, राज्यवर्धन सिंह राठौड र महबूबा मुफ्ती जस्ता चर्चित नेताहरूको भाग्यको फैसला गर्दैछन्।

सबै ५१ सिटहरूमा ६७४ उम्मेदवार चुनावको मैदानमा छन्। यो चरणसँगै लोकसभाको ४२५ सिटका लागि मतदान पूरा हुनेछ।

पाँचौँ चरणको चुनावमा करिब ८.७५ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। ती मध्ये ४.६३ करोड मतदाता पुरुष छन् भने ४.१२ करोड मतदाता महिला रहेका छन्।

चुनावको दिन अपाङ्गता भएका र ज्येष्ठ नागरिक, र अन्य अशक्त मतदाताहरूका लागि विभिन्न सुविधाहरू रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ।

आपराधिक मुद्दा

पुनम सिन्हा लखनऊको चुनावी मैदानमा
चुनाव पर्यवेक्षण गर्ने एक संस्थाका अनुसार सोमवार चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू मध्ये १४ उम्मेदवारहरू विरुद्ध गम्भीर आपराधिक मुद्दा लागेका छन्।

सोमबार परीक्षा हुन लागेका उम्मेदवारहरू मध्ये २८ उम्मेदवार करोडपति छन्। ती उम्मेदवारहरूको ‍औसत सम्पत्ति करिब २.५७ करोड रहेको बताइएको छ।

पाँचौ चरणमा सबैभन्दा धनी उम्मेदवारको सूचीमा पूनम सिन्हाको नाम सबभन्दा माथि छ। उनीसँग १९३ करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति भएको उल्लेख छ।

पूनम सिन्हा समाजवादी पार्टीको तर्फबाट लखनऊ लोकसभा क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी छन्।

उनले त्यो क्षेत्रमा भाजपाका वरिष्ठ नेता राजनाथ सिंहलाई चुनौती दिँदै छिन्।

Share Now

Leave a comment.