सानेपा(ललितपुर), २३ बैशाख । नेपाली कांग्रेसले यही बैशाख २५ गतेदेखि आरम्भ गर्न लागेको राष्टिय जागरण अभियानमा सांसदहरुलाई नखटाउने भएको छ ।
सोमबार अपरान्ह पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माल सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्व निर्णय परिवर्तन गरिएको े बताउनुभएको हो ।
नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान तीन चरणमा गर्न लागेको छ। जागरण अभियानको पहिलो चरण वैशाख २५देखि जेठ २५ एक महिना चल्नेछ भने दोस्रो चरण वीपी जयन्तीलाई समेटेर भदौ २४ देखि असोज १० सम्म १५ दिन चलाउने छ । कांग्रेसले जागरण अभियानको अन्तिम तथा तेस्रो चरण राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई समेटेर पुष ७देखि पुस १६ सम्म सञ्चालन गर्ने तयारी गरेको छ ।
कांग्रेसले जागरण अभियान पहिलो चरणमा देशका ७७ जिल्लास्तरबाट,दोश्रो चरण १६५ निर्वाचन क्षेत्रस्तरमा र तेस्रो चरण ७ सय ५३ स्थानीय तहसम्म पुर्याउने लक्ष्य लिएर सञ्चालन गर्दैछ । कांग्रेसले नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान प्रारम्भ गर्ने जनाएको छ , जसमा १५ उद्देश्य समेटिएका छन् ।
जागरण अभियान कांग्रेसले आफ्नो जनसम्पर्क समिति भएका विदेशका ३३ देशमा पनि सञ्चालन गर्दैछ । जागरण अभियानका अवसरमा भिन्न भ्रातृ संस्थाले आआफ्ना क्षेत्रका विभिन्न मुद्दा उठाउने छन् र सदस्यकाबीचमा समाधान लिएर जानेछन् । जागरण कार्यक्रम ७७ जिल्लामा एकसाथ उद्घाटन हुनेछ ।कांग्रेसले उद्घाटन शत्रलाई छोटो छरितो बनाउन आसन ग्रहणको परम्परागत शैलीको अन्त्य गर्दै उद्घाटनमा स्वागत र विसर्जन बाहेक केवल तीन वक्तालाई बोल्न दिनेछ । जसमा जिल्ला कार्यसमितिका तर्फबाट एकजनाले विषय प्रवेश गर्नेछन्, एक महिला वक्ताको मन्तव्य रहने छ र केन्द्रबाट खटाइएका प्रमुख अतिथिको मन्तव्य हुनेछ ।
कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको गरिएको छ । उद्घाटन समारोहमा व्याज वितरण र खादा तथा माला परम्पराको अन्त्य गरिनेछ ।
जागरण कार्यक्रमलाई प्रभावकारी बनाउन मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा जागरण गीत बनाइएको छ ।
शुरुको दिनमा अलग अलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ ।
जागरण कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरेको छ
त्यस्तै पाटीको केन्द्रीय अनुशासन समितिेले देश र विदेशमा एकै खालको सन्देश प्रवाहित गर्नको लागि जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हित विपरीतका गतिविधि कोहीबाट र कही पनि नहुन् भन्ने अभिप्रायका पार्टीको नीति र पार्टी नेताका विरुद्धमा अभिब्यक्ति नदिन उर्दी जारी गरेको छ ।
जागरण अभियानलाई सफल बनाउन राजधानीमा ५१ जिल्ला सम्पर्क समितिहरुको भेला पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ जसले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।


















