Prakash Adhikari May 14, 2019

वाशिंटन(संयुक्त राज्य अमेरिका), ३१ वैशाख(बीबीसी) । चीन र अमेरिकाबीच व्यापारिक तनाव झनै चर्किने सङ्केत देखिएको छ। साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ।

चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ।

अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ।

गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो।

त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ। त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ।

बेवास्ता

कर नबढाउन अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको छ। उसले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ।

चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ सो विषयमा चिनियाँ राष्ट्रपति सि जिन्पिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन्।

चीन अमेरिका वार्ता
दुवै पक्षले सहमतिका लागि छलफल गरेका छन्

दुई नेताबीच अर्को महिना जापानमा हुने जी-२० समूहको बैठकमा भेट हुने कार्यक्रम छ।

चिन्ता

त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनले भनेका थिए, “चीनले अमेरिकाबाट निकै धेरै फाइदा लिँदै आएको छ। ओबामाको शासनकालभन्दा पनि पहिलेदेखि नै त्यस्तो हुँदै आएको थियो। अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेको छ। अब हामी त्यस्तो हुन दिने छैनौँ।”

बेइजिङले अमेरिकी कदमको प्रतिक्रियास्वरूप त्यस्तै निर्णय गर्न आफू बाध्य भएको बताएको छ।

शुक्रवार अमेरिकाले २०० अर्ब डलरको चिनियाँ सामानमा दुई गुणाभन्दा बढीले कर लगाउने घोषणा गरेको थियो। गत साता दुई देशबीचको व्यापार वार्ता विफल भएपछि पछिल्लो तनाव बढेको हो।

Share Now

Leave a comment.