अमेरिकी राष्ट्रपति भन्छन् लडाइँ भयो भने इरानको ‘अन्त्य हुनेछ’
वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),६ जेठ(बीबीसी) ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आफ्नो देशसँग युद्ध चर्किएमा इरान ध्वस्त हुने कडा चेतावनी दिएका छन्।
“यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ,” उनले एक ट्वीट सन्देशमा भनेका छन्। “अमेरिकालाई फेरि कहिल्यै पनि धम्की नदिनु!”
If Iran wants to fight, that will be the official end of Iran. Never threaten the United States again!
— Donald J. Trump (@realDonaldTrump) May 19, 2019
अमेरिकाले केही दिनअघि खाडी क्षेत्रमा थप युद्धपोत तथा विमानहरू खटाइसकेको छ।
इरान र अमेरिकाबीच द्वन्द्व कम गर्ने पहलहरू जारी रहेको बेला ट्रम्पको पछिल्लो चेतावनी सार्वजनिक भएको छ।
अब के होला?
केही दिनअघि मात्रै ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानमाथि जारी दबाबले युद्धको रूप धारण नगरोस् भन्ने चाहना व्यक्त गरेका थिए।
गत बिहीवारमात्रै सम्वाददाताहरूले के अमेरिका-इरानबीच युद्ध हुन लागेको हो भनी सोध्दा ट्रम्पले भनेका थिए, “हुँदन होला भन्ने मेरो आशा छ।”
चर्किँदो तनावबीच इरानले पनि युद्ध हुने सम्भावना नरहेको बताइरहेको छ। शनिवार इरानी विदेश मन्त्रीले इरान युद्धको भोको नभएको बताएका थिए।
मोहमद जावाद जरिफले इर्ना समाचार संस्थालाई भनेका थिए, “युद्ध हुँदैन किनभने कोही पनि यस क्षेत्रमा इरानसँग कोही पनि युद्ध लड्न चाहदैन।”
तनाव किन चर्किएको हो?

इरानले सन् २०१५ को अन्तर्राष्ट्रिय परमाणु सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता तोड्दै युरेनियम प्रशोधनको काम पुन: थाल्ने चेतावनी दिएपछि पछिल्लो तनाव चर्किएको हो।
प्रशोधित युरेनियम परमाणु रियाक्टरको लागि ऊर्जा र परमाणु अस्त्र बनाउन प्रयोग गरिन्छ।
त्यो सम्झौताले इरानलाई परमाणु कार्यक्रम बन्द गर्न र त्यस्को बदलामा अमेरिकाले ऊ विरुद्धका प्रतिबन्ध हटाउन बाटो खोलिदिएको थियो। तर गत वर्ष अमेरिकाले त्यो सम्झौताबाट एक पक्षीय रूपमा हात झिकिदियो।
त्यो सम्झौता त्रुटिपूर्ण भएको भन्दै ट्रम्पले फेरि इरानविरुद्ध प्रतिबन्ध लगाइदिए।
अहिले खाडीमा के भइरहेको छ?
तेहरानले खाडीमा खटाइएका आफ्ना डुङ्गाहरूमा क्षेप्यास्त्रहरू राखेको आरोप अमेरिकाको छ। इरानले यूएईको तट पारी चार वटा तेल ट्याङ्करहरूमा क्षति पुर्याइदिएको आरोप अमेरिकी अनुसन्धानकर्ताको छ। तर तेहरानले त्यो आरोप अस्वीकार गरेको छ।
आइतवार बगदादको अति सुरक्षित मानिने विदेशी दूतावास रहेको ग्रिन जोनमा रकेट हमला भएको इराकी सेनाले बताएको छ। त्यो रकेटले अमेरिकी दूतावास नजिकैको एक खाली भवनलाई निसाना बनाइएको बताइएको छ। आक्रमण कसले गरेको हो प्रष्ट छैन।
त्यसलगत्तै ट्रम्पले ट्वीटर मार्फत इरानलाई धम्की दिएका हुन्।
हालै अमेरिकाले यूएसएस अब्राहम लिङ्कन विमान वाहक जहाजलाई खाडीमा खटाएको छ। उसले मध्यपूर्वमा १ लाख २० हजार सेना खटाउने योजना बनाएको बताइएको छ।








