
नेत्र केसी /बीबीसी नेपाली सेवा
काठमाडौं,१६ जेठ । श्रमका लागि कतार जाने नेपाली कामदारहरूका सम्पूर्ण प्रकृया नेपालमै सक्ने भन्दै काठमाण्डुमा भिसा केन्द्र खोलिएको छ।
तर कतारले स्थापना गरेको उक्त केन्द्रसँग न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय खुखी छ न त म्यानपावर व्यवसायीहरू नै।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले त फेरी सिन्डिकेट लागु गर्ने काम भएको र आफुहरुले उक्त कदम रोक्न नसकेको भन्दै राजिनामा घोषणा गरेका छन।
श्रम मन्त्रालयले आफ्नोमा केही महिनाअघि आएको प्रस्तावको टुङगो नलाग्दै उक्त सेन्टर खोलिएको जनाएको छ।
कस्तो केन्द्र?
कतारमा काम गर्न जाने नेपाली कामदारले भिसा आइपछि नेपालमा स्वास्थ्य परिक्षण गरेर जाने गर्थे।
तर कतार पुरेर पुन: फेरी मेडिकल गर्ने, डिजिटल औंठाछाप लिने र सम्झौतापत्रमा हस्ताक्षर गर्ने काम हुने गर्दथ्यो।
जुन काम अब नेपालमा खोलिएको भिसा सेन्टरले गर्ने र त्यहाँ मेडिकल फेल भएर फर्कनुपर्ने अवस्था नहुने र त्यसका लागि अतिरिक्त शुल्क नलाग्ने दुतावासको भनाई छ।
श्रम मन्त्रालयका अधिकारीहरुसँग कतारले केन्द्रको प्रस्ताव गर्दा त्यसले निम्न काम गर्ने बताएको थियो
- रोजगारीको अवसरबारे सूचना दिने,
- प्रवेशाज्ञा एवम् श्रमपत्र जारी गर्ने,
- श्रमिक रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने,
- स्वास्थ्य जाँच गर्ने,
- सूचना र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने
- ‘नि:शुल्कको प्रलोभन’
र व्यवसायीहरु यो कुरा मान्न तयार देखिदैन्न।
उनीहरूका भनाईमा कतारले यसअघि मलेसियालेझैं सहजिकरण गर्ने भन्दै सुरुमा एउटा संस्था खोलेको र पछि त्यसैलाई बढाउँदै लगेको आरोप लगाउँछन्।
र यसले समेत कामदारबाट अतिरिक्त शुल्क लिने उनीहरूको भनाई छ।
“नि:शुल्क भनेर पहिले प्रलोभन देखाउने र पछि मलेसिया जस्तै गर्छन्। मलेसिया जानका लागि बनाइएको सिन्डिकेट अन्त्य गर्न ठूलो दु:ख गर्नु पर्यो फेरिपनि त्यस्तै हुने जोखिम छ,” राजिनामा घोषणा गरेका संघका महासचिव नरेश गेलालले भने।
“यसले व्यवसायीहरुलाई काम गर्न अप्ठ्यारो पार्छ र कामदारलाई थप आर्थिक भार पनि।”
श्रम मन्त्रालय संहालेदेखि नै मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने र शून्य लागतको श्रम अवसर सिर्जना गर्ने बताउँदै आएका छन्।
मलेसिया कामदार पठाउनका लागि भिसा र स्वास्थ्य जाँच गर्ने संस्थालाई प्रतिबन्ध लगाउने आफ्नो कदमलाई समेत उनले त्यसकै रूपमा अर्थ्याएका थिए।
अनभिज्ञ मन्त्रालय
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुले कतारको भिसा केन्द्र खोलेको विषयलाई आफूले रोक्न खोज्दा खोज्दै पनि नसकेको बताउँछन्।
मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने, “भिसा सेन्टर खोल्ने बारेमा प्रस्ताव आएको थियो। कतारमा गएर छलफल पनि भएको थियो तर श्रम सम्झौता भित्रै यो विषयलाई कसरी राख्ने भन्ने बारेमा निर्णय गरिसकेका थिएनौं।”
“एकाएक भिसा केन्द्र खोल्ने काम भयो भन्ने सुनेका छौं। परराष्ट्र मन्त्रालयमार्फत् यस्तो सहमति भएको भन्ने बुझेका छौं। तर हामीसँग कुनै सरोकार गरिएको छैन।”
फरक बाटोबाट भिसा केन्द्र खोलिएपछि अब मन्त्रालयले कसरी काम गर्ने भन्नेमा अधिकारीहरू अन्योलमा छन्।
वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म भुसालले भने कुनै पनि संस्था कानुनी रुपमा खोल्न पाउने भएपनि कुनै पनि बहनामा र शीर्षकमा श्रमिकलाई थप आर्थिक व्ययभार पर्ने काम स्वीकार्य हुन बताउँछन्।
“त्यस्तो अवस्थामा वैदेशिक रोजगार नियमावली अनुसार कदम चाल्छौं।”
शङ्का र आशा
नयाँ श्रम सहमतिपछि पनि पहिलेझैं एकलौटी रूपमा मलेसिया कामदार पठाउने प्रकृया गर्दै आएका संस्थाहरु राख्नुपर्ने ‘भित्री इच्छा’ मलेसिया सरकारले देखाउदै आएको बताइएको छ।
कतारी भिसा केन्द्र खोलिएपछि मलेसियाले पनि सोही बाटो अप्नाउने र सरकारलाई दबाब दिने आकलन कतिपयको छ।
वैदेशिक रोजगार मामिलाका कतिपय जानकारहरुले अतिरिक्त कुनै पनि शुल्क नलिएर कतारमा हुने काम नेपालमै गरिने पक्षलाई सकारात्मक कदम भनेका छन्।
आप्रवासी श्रमिक लिने प्रकृयालाई सहज बनाउने भन्दै कतारले गत वर्षबाट धेरै कामदार पठाउने आठ देशमा २० वटा भिसा सेन्टर स्थापना गर्ने बताएको थियो।
दक्षिण एसियामा यसअघि नै श्रीलंकामा एक, बाङ्लादेश र पाकिस्तानमा दुई-दुई खुलिसकेका छन्। भारतका विभिन्न शहरहरूमा समेत केन्द्रहरू खोल्ने तयारी कतारले गरेको छ।
श्रम मन्त्रालयका अनुसार हाल कतारमा करिब ३ लाख ५० हजार नेपाली कामदार रहेका छन।