Prakash Adhikari June 5, 2019

लण्डन(बेलायत),२१ जेठ । श्रीलंकाले जारी विश्वकपमा पहिलो जित निकालेको छ । मंगलबार सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई डीएल मेथडबाट ३४ रनले हराएको हो ।

श्रीलंकाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १ सय ५२ रन मात्र जोडन सक्यो । श्रीलंकाले पहिले ब्याटिंग गर्ने क्रममा २ सय १ रन बनाए पनि वर्षाको कारण ओभर ४१ बनाईएकोले अफगानिस्तानले ४१ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएको थियो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजईले ३४ रनको साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाउन पुग्यो।

७ रन बनाएका शाहजादलाई मलिंगाले आउट गरेपछि रहमत शाह २, हाश्मतुल्लाह शाहिदी ४, मोहम्मद नाबी ११ रन तथा जजई ३० रन बनाएर आउट भए।

छैठौं विकेटको लागि नाजिबुल्लाह जद्रान र कप्तान गुल्बदीन नैबले ६४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई अघि बढाए। २५ औं ओभरमा नैब २३ रन बनाएर आउट भए ।एक किनार सम्हाल्दै अफगानिस्तानलाई जितको आशा दिलाएका नजिबुल्लाह जद्रान ३२ औं ओभरमा ४३ रन बनाएर आउट भए।

३२.४ ओभरमा अफगानिस्तान १सय ५२ रनमा समेटिन पुग्यो।

श्रीलंकाको बलिंगमा नुवान प्रदिपले सर्वाधिक ४ विकेट , लासिथ मालिंगाले ३ तथा इसुरु उडाना र थिसारा परेराले १। १ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको श्रीलंकाले ३६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय १ रन बनाएको थियो। ३३ ओभरमा १८२.८ को योगफल रहंदा वर्षाले खेल रोकिएपछि खेल ४१ ओभरमा छोट्याइएको थियो। बाँकी २ विकेट गुमाउदा श्रीलंकाले थप १९ रन जोड्यो।

श्रीलंकाको लागि ओपनर कुशल परेराले सर्वाधिक ७८ रन बनाए। कप्तान डिमुथ करुनारत्नेले ३०, लहिरु थिरमानेले २५, सुरंगा लक्मलले अविजित १५ , इशुरु उडानाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकाको लागि ओपनर कुशल परेरा र डिमुथ करुनारत्नेले पहिलो विकेटको रुपमा ९२ रन जोडेका थिए। डिमुथ ३० रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि परेराले लाहिरु थिरमानेसंग ५२ रनको साझेदारी गरे। थिरमानेलाई अफ स्पिनर मोहम्मद नाबीले २५ रनको व्यक्तिगत योगफलमा आउट गरे पछि श्रीलंकाले लगातार विकेट गुमाउन पुग्यो।

कुशल मेन्डिस २ रन, एन्जेलो म्याथुज र धनन्जय डी सिल्भा खाता नकोहली, थिसारा परेरा २ तथा इशुरु उडाना १० रन बनाएर आउट भए। एक किनारमा विकेट जोगाईराखेका परेरा पनि ३३ औं ओभरमा आउट भए। ७८ रन बनाउने क्रममा उनले ८१ बलमा ८ चौका प्रहार गरे।

अफगानिस्तानको लागि अनुभवी अफस्पिनर मोहम्मद नाबीले ४ विकेट लिए। यस्तै दौलत जद्रान ,हमिद हसन र राशिद खान ले १ । १ विकेट लिए।

श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अस्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो।

Share Now

Leave a comment.