Prakash Adhikari January 4, 2018

काठमाडौँ, २० पौष । प्रदेशको अस्थायी राजधानी किटान र प्रदेश प्रमुख नियुक्तिको विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधित्व गर्ने ५ राष्ट्र्यि दलको बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी छन् ।

बैठकमा सहमति जुटे पछि आजै मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी किटानी र राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् ।

प्रदेश प्रमुख चयन र प्रदेशको राजधानी किटानीमा पनि अवरोध गरेमा प्रदेशको सरकार गठन र प्रादेशिक सभाको अधिवेशन सञ्चालनमा पनि बिलम्ब हुने भएकोले बामगठबन्धन दुवै विषयमा नरम रहने अनुमान गरिएको छ ।

संविधानले प्रदेश सभाको निर्वाचनको अन्तिम नतिजा आएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ । यसको लागि प्रदेश प्रमुख नियुक्ति गर्नु अनिवार्य हुन आएको छ ।

प्रदेश प्रमुखको नियुक्ति प्रधानमन्त्रीको शिफारीशमा राष्ट्र्पतिले गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशको अस्थायी राजधानीको तयारीलाई लिएर प्रदेश नम्बर १, ७ मा आन्दोलन भैरहेको छ । प्रदेश २, ३ र ६ मा पनि असन्तुष्टिका स्वरहरु गुञ्जिन थालेका छन् ।

Share Now

Leave a comment.