काठमाडौ,५ आषाढ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने र सोमपाल कामी क्यानडाको ग्लोबल टी २० लिग प्रतियोगिताको लागि छनौट भएका छन्।
सन्दीपको यो सो लिगमा दोस्रो पटक पनि स्थान पाएका हुन भने राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामी पहिलो पटक बिदेशी लिगमा खेल्न छनौट भएका हुन।
ग्लोबल टी २० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि अगष्ट ११ सम्म क्यानाडामा आयोजना हुँदैछ।

सन्दीपलाई गत वर्ष मोन्टरियल टाइगर्सले लिएको थियो । यस पटक भने उनलाई टोरोन्टो नेसन्सले लिएको छ।सोमपाललाई विन्नीपिग हक्सले ड्राफ्ट मार्फत लिएको हो।
हालसम्म नेपाली क्रिकेट खेलाडीमा सन्दीप बाहेक अरुले बिदेशी लिगमा व्यवसायिक तवरले खेल्ने अवसर पाएका थिएनन् । यस अघि सोमपालसहित दिपेन्द्र ऐरी र रोहित पौडेल पनि क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा रहे पनि उनीहरु कुनै पनि टिमको प्राथमिकतामा पर्न सकेनन् । सोमपालले भने क्यानडाका लागि यसपटक मौका पाए ।
सन्दीप र सोमपाल दुवैलाई एसोसिएट विधाबाट टीमले चुनेका हुन।
सन्दीपको टीममा भर्खरै सन्यास घोषणा गरेका भारतीय स्टार खेलाडी युवराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन् भने काइरन पोलार्ड, ब्रेण्डन म्याकलम जस्ता चर्चित खेलाडी पनि सोही टीमबाट खेल्दैछन् । सोमपालको टीममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।
ग्लोबल टी २० क्यानडाका खेलेवापत नेपाली खेलाडी सन्दीपले ६० हजार डलर पाउनेछन् भने सोमपालले ३ हजार डलर पाउनेछन्। अघिल्लो सिजन मोन्टरियलबाट खेल्दा सन्दिपले ४० हजार डलर पाएका थिए। सन्दीपलाई क्यारेबियन प्रिमियर लिगमा बार्बाडोसले गत महिना ७० हजार डलरमा लिएको थियो।
सन् २०१४ मा नेपाली राष्ट्रिय टीममा प्रवेश गरेका सोमपाल नेपालको सबैभन्दा तिब्र गतिका बलर समेत हुन् भने ब्याटिंगमा लामो इनिंग समेत खेल्न सक्छन्।
ग्लोबल टी २० लिग क्यानडा प्रतियोगितामा कुल ८ टीम सहभागी रहेका छन् जसमा मोन्टरियल टाइगर्स, भान्कुवर नाइट्स, ब्राम्पटन वुल्भ्स, विनिपिग हक्स, एडमोन्टन रोयल्स, टोरोन्टो नेसनल्स रहेका छन्।
प्रतियोगिताको अघिल्लो संसकरणमा सन्दिपले खेलेको टीम मोन्टरियल टाइगर्सले ६ खेलमा मात्र २ जित हात पार्न सकेको थियो। यस्तै विनिपिग हक्सले ६ खेलमा ३ जित हात पार्न सकेको थियो र प्लेअफमा स्थान बनाएको थियो।


















