Prakash Adhikari June 30, 2019

सोल(दक्षिण कोरिया),१५ आषाढ(बीबीसी) ।अमेरिका र चीनले व्यापार वार्ता पुन: थाल्ने बताएर विश्वव्यापी आर्थिक शिथिलतालाई रोक्न प्रयास गरेका छन्।

चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग जी-२० शिखर सम्मेलनका बेला जापानमा भएको भेटवार्तापछि राष्ट्रपति डोनल्ड ट्रम्पले अब अमेरिकी प्रविधि कम्पनीहरूलाई चिनियाँ कम्पनी ह्वावेईलाई सामान बिक्री गर्न अनुमति दिने बताए।

त्यसलाई अमेरिकी प्रशासनले चीनलाई दिएको ठूलो राहतको रूपमा हेरिएको छ।

उक्त भेटवार्तापछि ट्रम्पले थप तीन खर्ब डलर बराबरका चिनियाँ आयातमा शुल्क बढाइदिने उनको पुरानो धम्की पनि अब कार्यान्वयन नहुने बताए।

Trump Xi Osaka dialogueको लागि तस्बिर परिणाम

ह्वावेईबारे बेइजिङले चाहेको जस्तै भएको हो?

दुई राष्ट्रपतिबीचको व्यापार वार्तालाई राष्ट्रपति ट्रम्पले दुवै पक्षको विजयको रूपमा प्रस्तुत गरेका छन्। तर त्यसले बेइजिङलाई ह्वावेईबारे उसले चाहेको जस्तै नतिजा मिलेको पनि हुनसक्छ।

ह्वावेईमाथि अमेरिकाले लगाएका नियन्त्रण तथा प्रतिबन्ध पूर्ण फुकुवा भएका हुन् कि होइनन् भन्ने पूरै प्रस्ट भइसकेको छैन। तर यदि हो रहेछ भने चाहिँ त्यसलाई बेइजिङका निम्ति ठूलै राहत हुनेछ।

यसअघि ट्रम्प प्रशासनले ह्वावेई कम्पनीलाई राष्ट्रिय सुरक्षामा खतरा भन्दै ऊसँग अमेरिकी प्रविधि कम्पनीको व्यापारिक सम्बन्ध सीमित पारिदिएको थियो।

तर पछिल्लो टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले यसरी अमेरिकी कम्पनीहरूलाई ह्वावेईलाई बिक्रीवितरण गर्न पुन: अनुमति दिँदा त्यसले राष्ट्रिय सुरक्षामा कुनै प्रभाव नपार्ने बताएका छन्।

तर अमेरिकामा भने विपक्षी डेमोक्र्याट तथा सत्तारुढ रिपब्लिकन दलका कतिपय नेताहरूले राष्ट्रपतिको पछिल्लो निर्णयको आलोचना गरेका छन्।

Trump Xi Osaka dialogueको लागि तस्बिर परिणाम
रिपब्लिकन सिनेटर मार्को रुबियोले त्यसलाई ‘भयङ्कर गल्ती’ भनेका छन्।

सिनेटमा डेमोक्र्याटका सबभन्दा वरिष्ठ सदस्य चक सुमरले राष्ट्रपति ट्रम्पले चीनको व्यापारिक व्यवहार परिवर्तन गराउने अमेरिकी क्षमतामा नाटकीय ह्रास ल्याइदिएको टिप्पणी गरेका छन्।

के अब व्यापार युद्ध सकियो?

बीबीसीकी एसिया व्यापार सम्वाददाता करिश्मा वास्वानी भन्छिन् भेटवार्तापश्चात् तत्कालका लागि व्यापार युद्धमा छोटो रोक लागे पनि यो युद्ध नै सकिएको रूपमा भने लिन सकिँदैन।

अहिले पनि सयौँ अर्ब डलर बराबरका मालसामानहरूमा लगाइएका अतिरिक्त शुल्क यथावत नै छन्।

त्यसमाथि दुई पक्षबीच मिल्न बाँकी थुप्रै कुरा छन्।

वास्तवमा वाशिङ्गटन बेइजिङले चार दशकदेखि वृद्धि भइरहेको उसको अर्थतन्त्रको स्वरूपमा आधारभूत परिवर्तन गरोस् भन्ने चाहन्छ। उदाहरणका लागि राज्यको स्वामित्वमा रहेका कम्पनीहरूलाई सहुलियत दिन बन्द होस् तथा चीनको घरेलु बजार थप खुला होस् भन्ने अमेरिका चाहन्छ। तर त्यसो नभए चीनलाई जवाफदेही बनाउन अमेरिका चाहन्छ।

तर बेइजिङले अमेरिकी दवाबमा उसले कुनै सैद्धान्तिक विषयमा सम्झौता नगर्ने सार्वजनिक रूपमै बताइसकेको छ।

यी भिन्नतालाई दुवै पक्षले कसरी कम गर्छन् भन्ने मै कुनै पनि व्यापार युद्ध विरामको वास्तविक परीक्षण हुनेछ।

अहिलेको निम्ति भने दुई पक्षले वार्ता गरिरहने बताउनु नै सकारात्मक मानिएको छ।

 

Share Now

Leave a comment.