सिंगापुर, १० साउन । सन २०२० मा अष्टेलियामा आयोजना हुने टी २० विश्वकपको लागि एशिया छनौट अन्तरगत भएको शुक्रबारका दुई खेलमा सिंगापुर र कुवेतको जित भएपछि नेपालको उपाधि जित्ने बाटो सहज भएको छ । तर उसलाई प्रकृतिको साथ र पाखुरीको कला पनि उत्तिकै आवश्यक छ ।
प्रकृतिको साथको अर्थ उसले बर्षाको कारण अंक बाड्ने स्थिति आउनु हुँदैन र बाँकी दुवै खेल जित्न पर्छ । नेपालले एक खेलमा मात्र जित निकालेमा र एक खेल बर्षाको कारणले रद्द भएमा नेपालको ५ अंक हुनेछ । सिंगापुरलाई जितेमा र कुवेतसंगको खेलमा अंक बाडिने स्थिति भएमा नेपाल भन्दा सिंगापुर बलियो स्थितिमा हुन सक्छ । किनभने शुक्रबारको खेलमा सिंगापुरले मलेशियालाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको छ भने पहिले भएको खेलमा कतारलाई ३३ रनले पराजित गरेको थियो ।
बाँकी खेलहरु – जुलाई २७ – कुवेत र नेपाल तथा मलेसिया र कतार , जुलाई २८ – सिंगापुर र नेपाल
ICC Men’s T20 World Cup Asia Region Final
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| SIN | 3 | 2 | 0 | 5 | 2.335 |
| KUW | 3 | 1 | 1 | 3 | -0.8 |
| NEPAL | 2 | 1 | 1 | 2 | 0.123 |
| MAL | 3 | 1 | 2 | 2 | -0.429 |
| QAT | 3 | 1 | 2 | 2 | -0.596 |
नेपाल पहिलो खेलमा कतारसंग पराजित भएको थियो भने मलेशियासंगको दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।
यो खेलमा विजयी हुने टिमले अक्टोबरमा युएईमा आयोजना हुने टि २० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ।ग्लोबल छनौटमा १४ टिम मध्ये ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि २० विश्वकप खेल्न छनौट हुनेछ।
ग्लोबल छनोटमा २०१८ डिसेम्बर ३१ सम्म टि २० वरियतामा ११ देखि १६ नम्बरमा रहेका टिमहरु स्वतः छनौट भइसकेका छन्। आयोजकको रुपमा युएई सिधा छनौट भएको छ। यस्तै इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी, अफ्रीकाबाट केन्या र नामिबिया, युरोप बाट जर्सी छनौट भएका छन्। हालसम्म स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड, युएई, पपुवा न्यु गिनी, केन्या, नामिबिया, जर्सी , छनौट भईसकेका छन् । अब एसियाबाट २ टिम र अमेरिकाबाट २ वटा टिम छनौट हुन बाँकी रहेको छ।
जिम्बाबेलाई आईसीसीले निलम्बन गरेको हुँदा ग्लोबल छनौट खेल्न नखेल्ने अनिश्चित रहेको छ।


















