सिंगापुु(सिंगापुर),११ साउन । सन २०२० मा हुने आईसीसी टी २० विश्वकपको एशिया छनौटको आफ्नो तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरी प्रतियोगितामा आफ्नो स्थान बलियो बनाएको छ ।
पाँच टीम सम्मिलित छनोट खेलमा नेपालले हालसम्म सम्पन्न ती खेलमा दुई खेलमा जीत र एकमा हार ब्योहोर्दै ४ अंक हासिल गरेको छ । हालसम्म खेलिएका ३ खेलमध्ये २ मा जीत र १ मा अंक बाडेर सिंगापुर ५ अंक सहित शीर्षमा रहेको छ । अन्तिम खेलको रुपमा उसले आयोजक सिंगापुर संग भोली खेल्नेछ ।
आजको खेलमा कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रन जोडेर पूरा गरेको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६८ रनको योगदान दिए । शनिवारको खेलमा शरद्भेषवाकरले ३८ रन जोडे भने ज्ञानेन्द्र मल्लले १९, रोहितकुमार पौडेलले ६ र दिपेन्द्रसिंह ऐरिले १ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा कुवेत कासिफले तीन विकेट लिए ।
यस अगाडि टस हारेर पहिले ब्याटिड.मा पुगेको कुवेतले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १४१ रन जोडेको थियो । कुवेतका लागि क्याप्टेन मोहम्मद कासिफले ४९, अन्दान इद्रिसले २५,एमएसएम अस्लाम २३, आर मन्दरुवानले १३,मीत भाष्वरले ५,मोहम्मद अहसानले ४ ,जन्दू हमैदले २ र इल्यास अहमदले १ रनको योगदान दिएका थिए ।
कुवेतलाई पराजित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले ३ ३ तथा करन के.सीले २ र अविनास बोहोराले १ विकेट लिए ।
आइतबार सिंगापुरलाई पराजित गर्न सके नेपालले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ट्वान्टी२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।